Paschim Express
फाइनलमा चुक्यो नेपाल, यूएई चार विकेटले विजयी

काठमाडौं । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । नेपालको सुरुवात ठीकै थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए ।

मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए । आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएको कुशल मल्ल मात्र १ रनमा आउट भए । 

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । तर, १३औं ओभरमा दुवै आउट भए । रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किएका हुन् ।

सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे । यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २, २ विकेट रह्यो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update