Paschim Express
बडादशैंको अन्तिम दिन: आज कोजाग्रत पूर्णिमा

काठमाडौं: आज आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्नेको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।

यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । कोजाग्रत पूर्णिमामा सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलि पूर्ति गरेपछि दशैँ समाप्त हुन्छ, दशमीको पाँचौँ दिन सबै बलि पूर्ति गर्नुपर्ने शास्त्रीय विधान छ ।

महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्ने प्रचलन छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याइ गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update