Paschim Express
बैतडीमा जीप र मोटरसाइकल ठोक्किँदा एक घाइते, डडेल्धुराका चालक नियन्त्रणमा

बैतडी : बैतडीमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। 

जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन नगरपालिका– ५ स्याडीखोलमा पाटनबाट मेलौलीतर्फ गइरहेको सामान बोक्ने सु.प.प्र.०२ ००१ च ८४१ नम्बरको जीप र मेलौलीबाट पाटनतर्फ आइरहेको म२प ६९१६ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। 

दुवै सवारी साधन एकआपसमा ठोक्किँदा मोटर साइकल चालक मेलौली नगरपालिका–६ का २१ वर्षीय नरेन्द्र भट्ट गम्भीर घाइते भएका प्रहरी निरीक्षक खत्रीले बताए।

उनकाअनुसार घाइते भट्टको डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। जीप चालक डडेल्धुराको भागेश्वर गाउँपालिका-३ का भुवन जोरा र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update