Paschim Express
सुदूरपश्चिम प्रदेश सभामा सभापति चयन नहुँदा समितिको काम गर्न समस्या

कैलाली: सुदूरपश्चिम प्रदेश सभा विभिन्न समितिको सभापति चयन गर्न नसक्दा विषयगत छलफल तथा अन्य काम गर्न समस्या भएको छ । नेतृत्वकर्ता नै नभएका कारण ती समितिहरूले आवश्यकता अनुसार काम गर्न सकेका छैनन् । 

प्रदेश सभामा चार वटा विषयगत समिति रहेका छन् तर दुई वटा थपेर छ समिति बनाउने गृहकार्य पनि भइरहेको छ । छ वटा विषयगत समिति बनाउने विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबिच सहमति जुट्न सकेको छैन । समितिका सभापति नहुँदा काम गर्न समस्या भइरहेको सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताए । “समितिका सभापति चयन गर्न ढिलो भइरहेको छ,” उनले भने, “सभापति नहुँदा समितिहरूलाई नियमित काम गर्न तथा निर्देशन दिन समस्या भइरहेको छ ।” 

प्रदेश सभा सदस्य बमका अनुसार केन्द्रीय सरकारमा सहभागी दलहरूबिच सुदूरपश्चिम प्रदेश सभामा दुई वटा विषयगत समिति थपेर छ पु¥याउने सहमति भएको छ । त्यो सहमति प्रदेशमा भने कार्यान्वयन हुन सकिरहेको छैन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले समिति थप्ने विषयमा सहमति नजनाएको उनले बताए। “त्यसै कारणले दोस्रो एवं बर्खे अधिवेशनमा समितिका सभापति चयन गर्न नसकिएको हो,” उनले भने । विषयगत समितिका सभापति चयनको निर्वाचन गएको असोज १२ गते तय गरिएको थियो । 

समिति थप्ने विषयमा सहमति जुट्न नसक्दा निर्वाचन नै स्थगित गरिएको हो । त्यसपछि प्रदेश सभाको दोस्रो अधिवेशन पनि सभापति चयन नै नगरी अन्त्य गरियो । अब समिति थप गरेर सम्भवतः तेस्रो अधिवेशनमा विषयगत समितिले सभापति पाउने जनाइएको छ । 

“समितिका सभापति चयनका लागि मात्रै विशेष अधिवेशन बोलाउने कुरा पनि रहेन,” प्रदेश सभा सदस्य बमले भने, “सम्भवतः अब आगामी अधिवेशनमा मात्रै समितिका सभापतिको निर्वाचन हुने छ ।” 

सभापति नहुँदा समितिका कामहरू सुस्त छन् । बैठक पनि नियमित बस्न सकिरहेको छैन । प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समिति रहेका छन् । 

समितिले अहिलेसम्म सभापति पाउन नसक्नु दुःखद रहेको नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले बताए । “समितिले पूर्णता पाउन नसक्नुको कारण के हो, किन रोकियो निर्वाचन, यसको कारक तìव को हो ?” उनले प्रश्न गरे ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update