Paschim Express
को हुन् डडेल्धुरा अस्पतालका ‘मिठो’ बोल्ने भाइरल डाक्टर ?

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–३ कोटेउडाका गोपाल दत्त पाण्डेय यहि कार्तिक ४ गते डडेल्धुरा अस्पताल पुगे। डेंगी भएपछि छोरीको उपचार गराउन उनी अस्पताल पुगेका थिए। उमेरले ४ वर्ष पुगेकी छोरीले इर्मेजेन्सी वार्डमा चेकजाँच गराउनै मानिन्। ‘मेरो छोरीले अन्य डाक्टरसँग चेकजाँच गर्न नमानेका बेला एक डाक्टरले भने एक मिनेटमै फकाइ दिनुभयो। म त्यहिनिरबाट उहाँप्रति प्रभावित भएँ’ पाण्डेयले भने।

शिक्षा विकास तथा समन्वय इकाइ बाजुरामा  प्राविधिक सहायकको रुपमा कार्यरत गोपाल दत्त पाण्डेयले त्यसपछि ती डाक्टरलाई नियाले। उनको छोरी जस्तै ती डाक्टले सबै बिरामीसँग देखाउने व्यवहार एकदमै नम्र रहेको पाण्डेले पाए। उनी भन्छन्, ‘उहाँले आफ्नो घरको मान्छे जस्तै सबै बिरामीलाई व्यवहार गर्नुहुँदो रहेछ। अरु डाक्टरको तुलनामा उनको बोली सबैभन्दा सरल र  मिठो छ। 

त्यो दिनपछि पनि पाण्डेय छोरीको फ्लोअप गर्न डडेल्धुरा अस्पताल पुगेका थिए। नियमित चेकजाँच गर्न जाँदा ती डाक्टरले देख्नेबित्तिकै छोरीको अवस्थाका बारेमा सोध्ने गरेको पाण्डेय बताउँछन्। ‘एक दिन मेरी श्रीमतीको पनि चेकजाँच गर्नुपर्ने थियो। मैले ती डाक्टरलाई चिनेकै आधारमा पहिले पालो दिन आग्रह गरेको थिए। तर उहाँले हैन धैर्य गर्नुस् पालो आउँछ भनेर लाइन लाग्न आग्रह गर्नुभयो’ उनले भने, ‘त्यहाँबाट उनको इमानदारीताप्रति म झनै प्रभावित भएर फेसबुकमा डाक्टरको बयान गरेर पोष्ट गरे।’

त्यस्तो व्यवहारिक डाक्टरको आवश्यकता डडेल्धुरामा मात्रै नभई प्रदेशका सातवटै पहाडी जिल्लावासीलाई भएको उनर्का बुझाई छ। गोपाल दत्त पाण्डेयले फेसबुकमा उनीजस्तो जनशक्ति पाउनुमा डडेल्धुरा भाग्यमानी भएको बताएका छन्। ‘उहाँबाट हामी सबै सार्वजनिक सेवा प्रवाह गर्ने राष्ट्रसेवकले पनि हामी मालिक नभई सेवक सम्झनु जरुरी ठान्छु’ उनले लेखेका छन्। 

पाण्डेयको उक्त पोष्टलाई हालसम्म २९ जनाले सेयर गरिसकेका छन्। भने, ९१ वटा सकारात्मक कमेन्ट आएका छन्। त्यहि पोष्टमा नरेश कुमार ऐरले ‘मलाई पनि उनी डाक्टर सा’पले राम्रो सल्लाह सुझाव दिएका थिए, उनको बिरामी तथा अन्यसँग गर्ने व्यवहार अनुसरणीय नै रहेको छ’ भन्दै लेखेका छन्। यस्तै राजेन्द्र ऐरले पनि ‘उहाँ सम्झन र सम्मान गर्न लायक हुनुहुन्छ। उच्च सम्मान छ उहाँलाई’ भन्दै लेखेका छन्। 

यस्तै अधिवक्ता  युवराज जोशीले ती डाक्टरमा उदार, परोपकारी तथा व्यावसायिकतामा समर्पित भएको छवि पाएको बताएका छन्। पत्रकार प्रकाश भाटले उनीमा एउटा चिकित्सकमा हुनुपर्ने गुण भएको भन्दै कमेन्ट गरेका छन्। 

चीनमा अध्ययन गरेका एडनन्
अहिले चौतर्फी तारिफ बटुल्न सफल एडनन् भण्डारीको घर विर्तामोड नगरपालिका–४, झापा हो। चीनको थाङसा मेडिकल युनिर्भसिटीमा अध्ययन गरेका उनी उमेरले २८ मात्रै पुगेका छन्। अहिले डडेल्धुरा अस्पतालमा इन्टर्नको रुपमा कार्यरत भण्डारी इर्मेजेन्सी वार्डमा भेटिने गरेका छन्। 

उनले अहिले सर्जरीमा बढी आवद्ध भइरहेको बताएका छन्। उनले स्वास्थ्यकर्मीलाई विभिन्न तनाव हुनु स्वभाविक रहेको तर त्यसलाई व्यवस्थापन गरेर बिरामीप्रति नम्र व्यवहार गरेर परामर्श दिनुपर्ने बताए। ‘सबै चिकित्सकलाई दोष लगाउनु मिल्दैन। तर चिकित्सकलाई धेरै चुनौती आइरहेको हुन्छ। त्यसलाई व्यवस्थापन गर्नुपर्छ’ उनले भने। उनले आफ्नो ज्ञान सीप डाक्टर सरद भट्राईबाट प्रभावित भएर पाएको बताए। 

भण्डारी अर्को वर्ष पासआउट हुँदैछन्। पासआउट भएपछि उनले माहोल मिले डडेल्धुरा अस्पतालमै आएर सेवा दिने सोच बनाएको बताएका छन्। 

अस्पतालद्वारा प्रोत्साहन दिने निर्णय
डडेल्धुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले पनि एडनन् भण्डारीमा उत्कृष्ट चिकित्सकमा हुनुपर्ने गुण भएको बताएका छन्। ‘उहाँ राम्रै हुनुहुन्छ। उहाँ नम्र भएर सबैसँग बोल्नुहुन्छ’ उनले भने।

सामान्यतया इन्टर्न गर्न आउने स्वास्थ्यकर्मीले आफ्नो खर्च आफै व्यहोर्नुपर्ने हुन्छ। तर, अस्पतालका अध्यक्षले भण्डारीको काम तथा लगनशीलता देखेर प्रोत्साहनस्वरुप मासिक १३ हजार दिने निर्णय गरिएको जानकारी दिए। 


 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update