Paschim Express
डडेल्धुरामा धमाधम हुँदैछन् खेलकुद प्रतियोगिता, खेल पूर्वाधारको छ चरम अभाव

डडेल्धुरा । जनस्तरमा सबैभन्दा लोकप्रिय छ, राष्ट्रिय खेल भलिबल । देशको भौगोलिक बनोट, कम खर्चमा खेल्न सकिने र लोकप्रियताका आधारमा भलिबललाई ६ वर्षअघि राष्ट्रिय खेल घोषणा गरिएको थियो । डडेल्धुरामा मात्रै भलिबलका बर्सेनि दर्जनौं प्रतियोगिता सञ्चालन हुन्छन् । 

तर, भलिबल संघ डडेल्धुराका अध्यक्ष राजेन्द्र ठगुन्ना भने भलिबल प्रतियोगिता गर्नुअघि सुरुमा मैदान (कोर्ट)का विषयमा सोच्नुपर्ने अवस्थाले चिन्तित छन् । ‘भलिबल इन्डोर गेम भए पनि हामीकहाँ कभर्डहल छैन,’ उनले भने, ‘कभर्डहल नभएपछि खुला मैदानमा प्रतियोगिता गराउनुपरेको छ । त्यहाँ पनि म्याटको व्यवस्था हुँदैन । यसले निकै समस्या भइरहेको छ ।’ 

अध्यक्ष ठगुन्नाका अनुसार खुला कोर्टमा भलिबल खेलाउनका लागि पनि विभिन्न विद्यालयको शरणमा गएर माग्नुपर्ने समस्या छ । ‘भलिबल संघले व्यवस्थित कोर्ट निर्माणका लागि जिल्ला सदरमुकाममा जग्गाको खोजी गरिरहेको छ,’ ठगुन्नाले भने, ‘तर अहिलेसम्म पाएका छैनौं । जिल्ला सदरमुकामभन्दा बाहिर बनाउँदा उचित होला जस्तो छैन ।’

डडेल्धुरामा भलिबलपछि क्रिकेटका प्रतियोगिता हुन्छन् । तर, क्रिकेट प्रतियोगिता गर्न त झन फलामको चिउरा चपाउनु सरह छ । ‘क्रिकेट खेलका लागि जिल्लामा मैदान मात्रै भएको भए थुप्रै प्रतियोगिता आयोजना गर्न सकिने थियो,’ डडेल्धुरा घर भएका प्रादेशिक क्रिकेट संघ सुदूरपश्चिमका अध्यक्ष बासुदेव जोशी भन्छन्, ‘तर मैदान नै नभएपछि क्रिकेटका गतिविधि गर्न सकेका छैनौं ।’ उनका अनुसार क्रिकेट मैदान हुन्थ्यो भने मात्रै डडेल्धुराबाट अहिलेसम्म थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भइसक्थे । 

भलिबल र क्रिकेटका प्रतियोगिता मात्रै होइन जिल्लामा कुनै पनि खेलका प्रतियोगिता सञ्चालन गर्न पूर्वाधारको चरम अभाव छ । जसका कारण खेलाडी उत्पादनमा समस्या भइरहेको छ भने अव्यवस्थित मैदानमा खेल खेल्दा खेलाडी चोट बोक्न बाध्य छन् । 

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्मर भण्डारीका अनुसार जिल्लामा अहिले कवर्डहल र रंगशाला दुबै छैन । ‘जिल्ला सदरमुकामको टुडिखेलमा ४ कोठे कार्यालय भवन र सेमी कवर्डहल निर्माण भइरहेको छ,’ उनले भने, ‘क्रिकेट मैदान र भलिबलको कोर्ट निर्माणका लागि भने बजेट नै छैन ।’ 

अमरगढी नगरपालिकाको भजनेउटामा क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार पारिएको बताउँदै कार्यालय प्रमुख भण्डारीले त्यसपछिको प्रक्रिया अगाडि बढाउन बजेट प्राप्त नभएको बताए । ‘अमरगढीको धोवीखोलामा रंगशाला निर्माणको योजना पनि थियो । तर त्यो योजना पनि अलपत्र छ,’ उनले भने । कवर्डहल नहुँदा अहिले एथ्लेटिक्सका खेलाडीको नियमित प्रशिक्षणसमेत रोकिएको छ । 

पूर्वाधार अभावमा पनि धमाधम भइरहेका छन् प्रतियोगिता
पूर्वाधार अभावमा पनि डडेल्धुरामा धमाधम प्रतियोगिता भइरहेका छन् । डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक १६ गतेदेखि खुला भलिबल प्रतियोगिता सुरु हुँदै छ ।

डडेल्धुरा जेसीजका अध्यक्ष भोजराज अवस्थीका अनुसार भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार १११, द्धितिय पुरस्कार २५ हजार १११ र तृतिय पुरस्कार १५ हजार १११ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र रहेको छ । यस्तै राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा डडेल्धुराको आयोजनामा पनि खुला भलिबल प्रतियोगिता जिल्लाको भागेश्वरमा भएको छ । 

डडेल्धुराको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिकामा नगरस्तरीय क्रिकेट प्रतियोगिता १८ कात्तिकदेखि हुने भएको छ । नगरको वडा नम्बर ६ को कार्यालयको आयोजनामा ‘स्वर्गिय नरबहादुर धामी स्मृति पाँचौं नगरस्तरीय पुरुष खुल्ला क्रिकेट प्रतियोगिता’ हुने भएको हो ।

वडा नम्बर ६ कै पुरानो चौकीको खेल मैदानमा हुन लागेको उक्त क्रिकेट प्रतियोगिताको विजेताले ६१ हजार ५५५ रुपैयाँ र उपविजेताले ३१ हजार ५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिए । साथै उत्कृष्ट बलर र ब्याटस्म्यानलाई उचित पुरुस्कारसमेत दिइने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update