Paschim Express
डडेल्धुरामा मुआब्जा पाए पनि घर भत्काउन अटेरी, अन्तिमपटक दिइयो ७ दिनको समय

डडेल्धुरा । जिल्ला सदरमुकामका घर तथा जग्गा धनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेका छन् । सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएको हो ।

सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभजिन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ ।

‘बागबजारदेखि अन्दाजी तीन सय मिटरसम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा भुक्तानी भई नेपाल सरकार महाकाली राजमार्गको नाममा लालपूर्जासमेत बनी आइसकेको हुँदा उक्त सडकखण्डमा पर्ने घर तथा टहराहरु यथाशिघ्र हटाउन लगाई सडक विस्तार तथा स्तरोन्नतिको कार्यमा सहकार्य गरिदिन हुन निर्देशानुसार अनुरोध छ,’ सडक डिभिजन कार्यालय डोटीले अमरगढी नगरपालिका वडा नम्बर ५ लाई लेखेको पत्रमा उल्लेख छ ।

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका १०६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा २८४ जनालाई पनि मुआब्जा वितरण गरिएको छ । तर मुआब्जाको सम्पूर्ण रकम पाएका घर तथा जग्गा धनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाई हुने देखिएको छ ।

अमरगढी नगरपालिकाले वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएको भन्दै अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरेको हो । १३ गते जारी सूचनामा ७ दिनभित्र संरचना हटाउन आग्रह गरिएको छ । घर तथा टहरा नहटाइएको पाइएमा अतिक्रमित संरचना हटाउन लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्दै कानूनी कारबाही गर्ने पनि नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।  

जिल्ला सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ । तर, कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरक–फरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ ।

सोअनुसार डडेल्धुरा जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका क्षेत्रमा सडकको चौडाइ ३० मिटर हुनुपर्ने हो । तर, जिल्ला सदरमुकाम बागबजारलगायत तुफानडाँडा–कीर्तिपुर–पोखरा हुँदै दार्चुलाको खलंगासम्मको महाकाली राजमार्ग ५ मिटर चौडा मात्रै कालोपत्रे गरिएको छ । जसका कारण सडक क्षेत्रमा सयौँ घर निर्माण भएका छन् । सडक क्षेत्र खाली भएपछि सडक डिभिजन कार्यालय कुलपाते सडक निर्माणका लागि टेन्डर गर्ने तयारीमा छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update