Paschim Express
डडेल्धुरा किन पुग्यो जापानी दूतावासका उपनियोग प्रमुख सहितको टोली ? 

डडेल्धुरा । नेपालस्थित जापानी दूतावासका उपनियोग प्रमुख तमुरा ताकाहिरो सहितको टोली डडेल्धुरा पुगेको छ । उपनियोग प्रमुख ताकाहिरोसंगै जापानी दूतावासकी कार्यक्रम व्यवस्थापक मिकी उप्रेती डडेल्धुरा पुगेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रका लागि जापानी दूतावासले विभिन्न उपकरण उपलब्ध गराएकोमा ती उपकरण हस्तान्तरण समारोहमा सहभागी हुन दूतावासको टोली डडेल्धुरा पुगेको हो ।

रक्तसञ्चार केन्द्रमा चिकित्सकीय उपकरण जडान परियोजनामार्फत जापानी दूतावासले विभिन्न उपकरण हस्तान्तरण गरेको छ । उपकरण हस्तान्तरण समारोहमा बोल्दै प्रमुख अतिथि दूतावासका उपनियोग प्रमुख ताकाहिरोले रक्तसञ्चार केन्द्रमा चिकित्सकीय उपकरण जडान परियोजना सफलतापूर्वक सम्पन्न भएकोमा बधाई ज्ञापन गरे ।

परियोजनामार्फत उपलब्ध गराइएका उपकरण प्रयोग गरेर प्रभावकारी रुपमा बिरामीहरुलाई रगत ट्रान्सफ्युजन गर्न सकिने उनले विश्वास लिए । 

रेडक्रम डडेल्धुराका सभापति मदनराज चटौतको अध्यक्षतामा भएको कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपाने, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपसभापति सुरेन्द्रसिंह ऐर लगायतको सहभागिता रहेको थियो । जापानी दूतावासको टोली महेन्द्र माविमा आयोजित कार्यक्रममा पनि सहभागी भएको बताइएको छ । 

No description available.

No description available.

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update