Paschim Express
विकास निर्माण कार्यमा निगरानी बढाउँदै डडेल्धुराका युवा

डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकैको चिम्रिकोटदेखि टुडिँखेल जोडने सडक स्तरोन्नतीका क्रममा निर्माण व्यवसायीले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरिरहेको भन्दै स्थानीय युवाहरुले निर्माण कार्य रोकेका छन् ।
 
अमरगढी नगरपालिका–४ खलंगास्थित जयबाबा घटाल युवा क्लवको अगुवाईमा गुणस्तरहीन काम भइरहेकोले सम्बन्धित कार्यालयसँग अनुरोध गरेर सडक निर्माण कार्य रोकिएको स्थानीय युवा खगेन्द्र ठकुराठीले जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकार मातहतको भौतिक पुर्वाधार विकास कार्यालय डडेल्धुराले उक्त कच्ची सडकमा नाली निर्माणका लागि पूजा एण्ड पवन निर्माण सेवा डडेल्धुरासँग सम्झौता गरेर निर्माण कार्य भइरहेको हो । 

सडकको नाली ढलान गर्ने क्रममा माटो मिसिएको बालुवा र गुणस्तरहीन गिट्टी प्रयोग गरेको पाइएपछि तत्काल निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई जानकारी गराएर निर्माण कार्य रोक्न युवाहरुले दबाब दिएका हुन् । निर्माण कम्पनीले कार्यालयसँग समन्वय नगरेर कामका बारेमा सरसल्लाह नगरी गुणस्तरहीन सामाग्री प्रयोग गरेर निर्माण कार्य गरिरहेको पाइएकाले तत्काल काम रोकिएको पुर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ । 

गुणस्तरीय निर्माण सामाग्री प्रयोग गरेर डिजाइन, स्टीमेट अनुसार काम गराउन तत्कालन कार्यस्थलमा गुणस्तरीय सामग्री ल्याउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको र गुणस्तरीय सामाग्री नल्याएसम्म काम रोकिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका सव इन्जिनियर रामचन्द्र यादवले जानकारी दिए । उनले युवाहरुले विकास निर्माण कार्यमा निगरानी राख्न जरुरी भएको बताउँदै युवाहरुको सकरात्मक सहयोगले विकास निर्माण कार्य गुणस्तरीय हुने जिकिर गरे । 

जयबाबा घटाल युवा क्लवसँग आवद्ध युवाहरु समुदायमा भइरहेका विकास निर्माणका कार्यक्रमहरुको निगरानी गरिरहेको र कमसल किसिमले कार्यसम्पादन भएको पाइएमा तत्काल सम्बन्धित निकायसँग समन्वय गरेर गुणस्तरीय रुपमा काम गर्न दबाब दिइने बताउछन् । ‘सदरमुकाम क्षेत्रमै विकास निर्माणका कृयाकलापहरु अपारदर्शी रुपमा गुणस्तरहीन किसिमले सम्पन्न भइरहेका छन,’ स्थानीय अगुवा बिवेक भट्टले भने, ‘युवाहरुले विकास निर्माण कार्यको निगरानी गर्न जरुरी छ।’

विकास बजेट दुरुपयोग बढ्दै गएकाले स्थानीयस्तरमा भइरहेका विकास निर्माण कार्यको स्थानीय बासिन्दाहरुले निगरानी गर्न आवश्यक रहेको स्थानीय समाजसेवी डम्बरदेव पाण्डेयले बताए । उनले कार्यसम्पादनमा लापरवाही गर्ने र गुणस्तरहीन काम गर्ने प्रवृतिको अन्त्य गर्न गलत कार्यमा संलग्नलाई कानूनअनुसार कारवाही हुनुपर्ने औँल्याए । युवाहरुले विकास निर्माण कार्यको निगरानी गर्न समुदायस्तरसम्म निगरानी समुह गठन गरिने बताएका छन् । 

जिल्लाका सातवटै स्थानीय तहका बस्तीस्तरसम्म निगरानी समुह गठन गरेर विकास निर्माण कार्यको निगरानी बढाउँने तयारी भइरहेको स्थानीय युवा आशिष ठकुराठीले बताए । उनले समुदायस्तरमा क्रियासिल बिभिन्न युवा क्लवहरुमा आवद्ध युवाहरुलाई एकतावद्ध बनाएर विकास निर्माण कार्यको निगरानी गरिने जानकारी दिए ।
 
युवाहरुको निगरानीका कारण गुणस्तरहीन काम हुनबाट जोगिएको बताउँदै पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले गुणस्तरहीन कार्य गर्ने निर्माण कम्पनीलाई निर्धारित गुणस्तर कायम हुनेगरि कार्य सम्पादन गर्न निर्देशन दिइसकेको र अझ पनि गुणस्तरीय काम भएको नपाइमा कानूनअनुसार कारवाही गरिने बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update