Paschim Express
डडेल्धुराको एक विद्यालय : जहाँ विद्यार्थीले गरेका छन् व्यवसायीक फूल खेती

डडेल्धुरा । भदौं अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी प्रयोगात्मक सिकाइका लागि इजरायल लागे । विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका आठौं सेमेस्टरका विद्यार्थी ११ महिनाको ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि इजरायल गएका थिए ।

उनीहरु इजरायल पुगेको महिना दिन भएको थिएन, प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमणमा ग¥यो । उक्त आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका १० विद्यार्थीले ज्यान गुमाए । यो घटनासँगै हमास विद्रोहीको कब्जामा रहेको गाजा क्षेत्र नजिकै नेपाली विद्यार्थीलाई किन लगियो भन्ने प्रश्न उठेको छ ।

असुरक्षित क्षेत्रमा नेपाली विद्यार्थीलाई पुर्याइएको र उनीहरुलाई सम्भावित जोखिमबारे पर्याप्त सचेत नगराइएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको आलोचना समेत गरेका छन् । अर्कोतर्फ ‘लर्न एन्ड अर्न’ कार्यक्रम नेपालमा किन सञ्चालन गर्न सकिएन भन्ने प्रश्न पनि उठिरहेको छ ।

विश्वविद्यालयले आफ्ना विद्यार्थी पढ्न र कमाउनका लागि विदेश पठाइरहेको अवस्थामा कतिपय विद्यालयले भने स्वदेशमै सो कार्य गरिरहेका छन् । ती मध्येको एक विद्यालय हो, डडेल्धुराको परशुराम नगरपालिकास्थित कटालमा रहेको भागेश्वर मावि ।

No description available.

विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीका अनुसार प्राविधिक धारतर्फ ४ वर्ष अगाडि मात्रै विद्यालयमा ९ देखि १२ कक्षा सम्मको कृषि बाली विज्ञानको अध्यापन सुरु भएको थियो । ‘कृषि अध्ययन गरेर पनि फेरि पराम्परागत खेतीमै लाग्नुभन्दा केही नयाँ सुरु गरौं भनेर हामीले विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम गत वर्षदेखि सुरु गर्ने योजना बनायौं,’ प्रधानाध्यापक अवस्थीले भने, ‘सोही कार्यक्रमअन्तर्गत लिजमा जग्गा लिएर गत वर्षदेखि फूल खेती सुरु गरेका छौं ।’

विद्यालयका शिक्षक दुर्गादत्त पन्तका अनुसार प्राविधिक धारको कृषि बाली विज्ञानमा एउटा फ्लोरीकल्चरी विषय छ । ‘सोही विषयको व्यवहारिक कक्षाका लागि सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत गत वर्षदेखि फूल खेती गर्न लागेका हौं,’ उनले भने, ‘गत वर्ष डेढ रोपनीमा फूल खेती गरेका थियौं । झण्डै डेढ लाखको फूल धनगढी निर्यात गर्न सफल भयौं । यो वर्ष चार रोपनीमा सयपत्री फूल खेती गरेका छौं । ८ देखि १० क्विन्टलसम्म फूल बिक्री गर्न सकिन्छ भन्ने अनुमान छ ।’

फूल बिक्री गरेबापत हुने आम्दानी विद्यार्थीलाई दिने गरेको शिक्षक पन्तले बताए । ‘फूल खेती गर्दा लाग्ने लगानी कटौती गरेर विद्यार्थीलाई आम्दानीको ४० देखि ५० प्रतिशत रकम दिने गरेका छौं,’ उनले भने, ‘फूल खेती सुरु गरेर एकातर्फ व्यवहारिक शिक्षा पनि दिइरहेका छौं भने अर्कोतर्फ विद्यार्थीले केही रकम कमाइरहेका पनि छन् ।’

विद्यार्थीको सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत तिहारका लागि सयपत्री फूलको अग्रिम बुकिङ पनि खुला गरिएको शिक्षक पन्तले बताए । विगतका वर्षमा तिहारको समयमा सयपत्री फूल भारतबाट आयात हुँदै आएको थियो ।

तर, यस वर्षको तिहारलाई लक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।

No description available.

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update