Paschim Express
डडेल्धुराको अजयमेरुमा भलिबल प्रतियोगिता हुने, बिजेतालाई ७७ हजार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता हुने भएको छ । वडा कार्यालयको आयोजनामा कात्तिक २३ गतेदेखि २५ गतेसम्म सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता हुने भएको हो ।

भलिबल प्रतियोगिताका लागि टिम दर्ता सुरु गरिएको छ भने टिम दर्ता शुल्क तीन हजार तीन सय ३३ राखिएको छ । वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ७७ हजार सात सय ७७, दोस्रो हुने टिमलाई ५५ हजार पाँच सय ५५, तेस्रो हुने टिमलाई ३३ हजार तीन सय ३३ र सान्तोना हुने टिमलाई ११ हजार एक सय ११ नगद पुरस्कार प्रदान गरिने छ ।

सर्वोत्कृष्ट स्पाइकर, लिफ्टर र सेटरलाई तीन हजार तीन सय ३३ नगद प्रदान गरिने वडा अध्यक्ष भण्डारीले बताए । भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम चेतना मावि राजुलमा हुने बताइएको छ ।

‘स्थानीयस्तरको खेल प्रतिभालाई उजागर गर्दै खेलाडी उत्पादन गर्न तथा स्थानीय कला र संस्कृतिको संरक्षण गर्नका लागि सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ वडा अध्यक्ष भण्डारीले भने । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update