Paschim Express
नेपाललाई विश्वकप पुग्न यूएईले दियो १३५ रनको लक्ष्य 

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको हो । 

चोटका बाबजुद खेलेका वृत्या आनन्दले यूएईबाट सर्वाधिक ६४ रन बनाए । हङकङविरुद्ध अघिल्लो दिन समूह चरणको खेलमा ब्याटिङ गर्दा बलले नाडीमा चोट लागे पनि खेलेका वृत्याले ५१ बल खेली ८ चौका र २ छक्का प्रहार गरे ।

कप्तान एवं मोहम्मद वासिमले २६ रन बनाए । उनले १६ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । अलिसान सराफु १६ र आसिफ खान १३ रन बनाए । नेपालबाट कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा ११ रनमात्र खर्चेका थिए । सन्दीप लामिछानेले २ विकेट लिए । १८ औं ओभर विकेट मेडन राखेका उनले ४ ओभरमा १४ रनमात्र खर्चे ।

सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । उनले नै चौथो ओभरमा आफ्नै बलिङमा फलो थ्रुमा बल टिपेर सिधा थ्रोमा ओपनर खालिद साहलाई ३ रनमा रनआउट गरेका थिए । सोमपालले नै वासिमको विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि १ विकेट लिए ।

ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने विश्वकपमा पुग्ने छन् । कीर्तिपुरमा भएको अर्को सेमिफाइनलमा बहराइनले ओमानलाई १ सय ७ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update