Paschim Express
नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौँ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो । 

१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमै पूरा गर्‍यो । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्त्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमै आफ्नो चौथो अर्धशतक पूरा गरेका थिए । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरे ।

कुशल भुर्तेल २ चौका प्रहार गरी ८ रन बनाई आउट भए । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेली ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलान्श केस्वानी र बसिल हमिदले १–१ विकेट लिए ।
 

जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको फाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

जारी छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोलीले आगामी टी—२० विश्वकप खेल्न पाउने प्रावधान छ । टी—२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । 

नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । नेपाली टोली बंगलादेशमा आयोजित त्यो विश्वकपको प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update