Paschim Express
नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री जाजरकोटमा

काठमाडौँ । शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिएका छन्।

घाइतेको उद्धार, तथा पीडितहरूका लागि राहतको व्यवस्था गर्ने बारेमा प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी लिएका हुन्। प्रधानमन्त्री भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ गएका हुन्।

भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै निकायका थप सुरक्षाकर्मी पनि परिचालन गरिसकेको छ। भूकम्पबाट भएको क्षतिको विषयमा प्रधानमन्त्री दाहालले जाजरकोटका प्रमुख जिल्ला अधिकारीबाट जानकारी लिंदैछन्।

भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन्। अझै पनि विवरण आउन बाँकी रहेकाले धेरैको सङ्ख्यामा मानवीय क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update