Paschim Express
डडेल्धुरामा शिखर जाँत आज, बैतडीमा ‘ठूली जात’ को रौनक

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वन क्षेत्रमा लाग्ने प्रसिद्ध लाटागन्यापको ‘शिखर जाँत’ आज राति लाग्दै छ । प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ । डाणाकान्तिका हिसाबले गनेर लाग्ने मेला विशेष गरि प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ । तर, यस वर्ष भने मालामासका कारण असोजमा लाग्दैछ ।

शिखरको जाँत ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ । शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन् । गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ ।

यस्तै गन्यापधुरा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । शिखर जाँतको अवसरमा पालिकाले बिदा दिएको हो । गाउँपालिकाको कार्यालय तथा मातहतको कार्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले जानकारी दिए । 

यस्तै बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चर्तुदशीको अवसरमा लाग्ने चारदिने मेला सुरु भएको छ । दशरथचन्द नगरपालिका–२ देहिमाडौँस्थित निङ्गलाशैनी भगवतीको भण्डार घरबाट आज मन्दिरमा भण्डार भित्र्याएसँगै मेला÷जात्रा सुरु भएको हो । यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ । चार दिनसम्म मन्दिरमा पूजाआजा हुने गर्दछ ।  
भाद्र शुक्ल पूर्णिमासम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा सोराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट आउने जात्रा मुख्य आकर्षण रहेको छ । मेलाको अवसरमा मन्दिरमा तीन रात बस्ने उभिएर बत्ती बाल्ने महिला भक्तजनहरूको घुइँचो लागेको छ । निङ्गलाशैनी भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । यो मेलालाई स्थानीय भाषामा ‘ठूली जात’ भन्ने चलन रही आएको छ । यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रुपमा रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update