Paschim Express
जाजरकोट भूकम्पले सुदूरपश्चिममा पारेको असरः ३ घाइते, ६ प्रहरी कार्यालय र दुई घरमा आंशिक क्षति

कैलाली । शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि सुदूरपश्चिममा तीन जना घाइते भएका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम घोराडी बस्दै आएका तीन जना सामान्य घाइते भएका हुन् ।

कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उनकी श्रीमती ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

घरको पर्खाल भत्किँदा उनको गोठमा बाँधेका एक गाई, एक भैंसी र बाख्रा घाइते भएको जनाइएको छ । भूकम्पका कारण कार्कीको चारकोठे २ तले कच्ची घरको पर्खाल भत्किएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएको र कार्कीको परिवारलाई अर्को घरमा सारिएको छ । राति आएको भूकम्पले प्रदेशका अन्य जिल्लामा मानवीय क्षति नभए पनि भौतिक क्षति व्यहोर्नुपरेको छ ।

भूकम्पबाट अछाम र कैलालीमा भौतिक क्षति भएको जनाइएको हो । केन्द्रका अनुसार भूकम्पका कारण अछामका छ वटा प्रहरी कार्यालयहरुमा आंशिक क्षति भएको छ भने पञ्चदेवल नगरपालिका वडा नम्बर ९ चल्तडा एक कच्ची घरको भित्ता चर्कदा आंशिक क्षति पुगेको जनाइएको छ ।

यस्तै कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ७ साझा बजार एक पक्की घरमा चर्किँदा आंशिक क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update