Paschim Express
डडेल्धुरामा विपद्को जोखिम हस्तान्तरणका लागि छलफल

डडेल्धुरा । डडेल्धुरामा विपद्को जोखिम हस्तान्तरणका लागि छलफल भएको छ । यूरोपेली आयोग मानविय सहायता विभागको आर्थिक, युएनडिपी नेपालको प्राविधिक एवं ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराको साझेदारमा कार्यान्वयन भइरहेको सुपर परियोजनाको आयोजनामा विपद्को जोखिम हस्तान्तरणका लागि छलफल भएको हो ।

कमजोर भौगर्भिक तथा भूधरातलीय अवस्था, मौसमी विसमता, जलवायु परिवर्तन, बढ्दो अव्यवस्थित शहरीकरण लगायतका कारण डडेल्धुरामा पनि विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्को जोखिम उच्च रहेको छ । यस्तो अवस्थामा बीमा गरेर पनि विपद्को जोखिम हस्तान्तरण गर्न सकिने भएकाले अन्तरक्रिया गरिएको ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदले बताए ।

‘जोखिम हस्तान्तरण भनेको कुनै एउटा व्यक्ति वा संस्था वा कम्पनीसंग निहित जोखिमलाई अर्को व्यक्ति वा कम्पनीलाई बाड्ने वा हस्तान्तरण गर्ने कार्यलाई जनाउँछ,’ उनले भने, ‘यस प्रकृयालाई बीमा कम्पनीहरूले विभिन्न प्रकारका जोखिम बहन गरिदिने व्यवस्था गरेका छन् । यसै प्रकृयालाई जोखिम हस्तान्तरण प्रकृया भनिन्छ ।’ बीमा गरेर जोखिम बहन गरिदिएबापत केही शुल्क लिने र क्षति भएको अवस्थामा क्षतिपूर्ति बापतको शर्त बमोजिमको रकम भुक्तानी गर्ने गरिन्छ । 

कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले डडेल्धुरा भूकम्प लगायतका विभिन्न विपद्को उच्च जोखिममा रहेकाले जोखिम हस्तान्तरणको योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताए । ‘विज्ञहरुले पनि पश्चिममा ठुलो भूकम्पको जोखिम कायमै रहेको बताउँदै आएका छन्,’ जोशीले भने, ‘यस्तो अवस्थामा कुनै पनि व्यक्तिले आफूसँग भएको सम्पत्ति वा आफ्नो दायित्वमा रहेको जोखिम अर्को व्यक्ति वा कम्पनीलाई हस्तान्तरण गर्न सके उपयुक्त हुन्छ ।’

अमरगढीमा विपद्को जोखिम हस्तान्तरणको योजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने उनको तर्क थियो । कार्यक्रममा अमरगढी नगरपालिकाका उपमेयर पार्वती झुकाल, नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, बीमा कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update