Paschim Express
डडेल्धुरामा चोरीका तीन घटना, तीनजना पक्राउ

डडेल्धुरा । केही दिनयता डडेल्धुरामा चोरीका घटना बढ्दै गएको पाइएको छ । जिल्लाका फरक–फरक तीन स्थानमा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

डडेल्धुराको परशुराम नगरपालिका–४ लटेरोडा कटालस्थित वडाकार्यालयमा तोडफोड गरी चोरी भएको छ । कात्तिक १५ गते राति दुईजनाको समूहले कार्यालयको मुल गेटको ताला फुटाएर चोरी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

कार्यालयको मुल ढोकामा रहेको सीसीटिभी क्यामेरा फुटाएर गेटको ताला तोडेको प्रहरीको बताएको छ । कार्यालयभित्र रहेका फर्निचर तोडफोड गरि राजस्वबापत संकलन भएको १३ हजार ८ सयसमेत चोरी भएको वडा सचिव डम्बर साउँदले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा जडित सीसीटिभी क्यामेरा र क्यामेराजडित सिपियू समेत चोरिएको छ । चोरी गरेको आरोपमा प्रहरीले हिजो परशुराम नगरपालिका-४ कटाल घर भएका २३ वर्षीय नरेन्द्र नेगी र सोही ठाँउ बस्ने वर्ष १९ का हरि थापालाई पक्राउ गरेको छ ।

उनीहरुमाथि पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीका सूचना अधिकारी इन्सपेक्टर कुसुम नायकले बताए। 

यस्तै अमरगढी नगरपालिका–५ विद्युत रोडमा रहेको एक घरबाट सुन चोरी भएको छ । अस्ति शुक्रबार तारा बोहराको घरमा बस्ने उत्तमसिंह कार्कीको कोठाबाट साढे पाँच तोला सुन चोरीएको जानकारी आएको नायकले बताए । उनले घटनाका बारेका अनुसन्धान चलिरहेको जानकारी दिए । 

यसैगरी अमरगढी नगरपालिका–११ का शिवराज बोहराको घरबाट नगद चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उनकै भतिजा नाता पर्ने नाबालकलाई चोरी गरेको आरोप पक्राउ गरिएको इन्सपेक्टर कुसुम नायकले जानकारी दिए ।

उनका अनुसार बालकबाट चोरी भएको ३१ हजार बरामद गरिएको छ । तर, पीडित बोहराले भने आफ्नो घरबाट ४८ हजार चोरीएको बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update