Paschim Express
डडेल्धुरा सदरमुकामको सडक विस्तार : संरचना भत्काउन अमरगढी नगरपालिकाले आजदेखि डोजर चलाउने

डडेल्धुरा । जिल्ला सदरमुकामका घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले आजदेखि डोजर चलाउने भएको छ । सडकको क्षेत्राधिकारभित्रै पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा व्यक्तिलाई वितरण गरिए पनि सडकको क्षेत्राधिकार खाली नगरिएका कारण आजदेखि सडकको क्षेत्राधिकार खाली गर्न नगरपालिकाले डोजर चलाउने भएको हो ।

त्यसका लागि अमरगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर क्षेत्रीलाई संयोजक तोकिएको नगरपालिकाले जनाएको छ । आजदेखि बसपार्कबाट सडक क्षेत्र खाली गर्न सुरु गरिने बताइएको छ । अमरगढी नगरपालिकाले वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएको भन्दै अन्तिम पटकका लागि संरचना हटाउन सूचना जारी गरिएको थियो । १३ गते जारी सूचनामा ७ दिनभित्र संरचना हटाउन आग्रह गरिएको थियो । उक्त सूचनाको अवधि आइतबार सकिएको कारण आजदेखि डोजर चलाउने तयारी भएको हो ।

सदरमुकामको बागबजारदेखि रानीधारासम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ ।

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका १०६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा २८४ जनालाई पनि मुआब्जा वितरण गरिएको छ । तर मुआब्जाको सम्पूर्ण रकम पाएका घर तथा जग्गा धनीले पनि संरचना भत्काउन अटेरी गरेपछि सडक निर्माणको प्रक्रिया अगाडि बढाउन ढिलाई भइरहेको छ ।
जिल्ला सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ । कैलालीको मोहना पुलदेखि दार्चुलासम्मको महाकाली राजमार्गको चौडाइ राजपत्रमा फरकफरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाइ रहेको राजपत्रमा उल्लेख छ ।

सोअनुसार डडेल्धुरा जिल्ला सदरमुकामको बागबजार, तुफानडाँडा, कीर्तिपुरलगायतका क्षेत्रमा सडकको चौडाइ ३० मिटर हुनुपर्ने हो । तर, जिल्ला सदरमुकाम बागबजारलगायत तुफानडाँडा–कीर्तिपुर–पोखरा हुँदै दार्चुलाको खलंगासम्मको महाकाली राजमार्ग ५ मिटर चौडा मात्रै कालोपत्रे गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update