Paschim Express
डडेल्धुरामा यसरी पूरा हुँदैछ मेडिकल कलेज सपना

डडेल्धुरा । ५ वर्ष अगाडि ०७५ असार १६ गतेदेखि डा. गोविन्द केसीले जुम्लामा सुरु गरेका थिए १५औं अनसन । विकट कर्णालीमा त्यो अनसन सुरु गर्दा उनले छिमेकैको अर्को विकट सुदूरपश्चिम पहाडका लागि एउटा सपना थपिदिएका थिए । त्यो सपना थियो, मेडिकल कलेजको । त्यो सत्याग्रहका क्रममा उनका तमाम मागहरुका बीचमा एउटा माग थियो ‘डोटी–डडेल्धुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने ।’ सत्याग्रह तोड्दा ०७५ साउन १० गते सरकार र उनको बीचमा सहमति भयो । त्यसको एक वर्षपछि ०७६ कात्तिकमा डा. केसीले १७औं अनसन डडेल्धुराबाट सुरु गरे । जुम्ला र डडेल्धुराको अनसनबाट सुदूर पहाडका बासिन्दामा पनि मेडिकल कलेज सञ्चालनको आशा जगाइदियो । 

०७८ माघ १० गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय नै ग¥यो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने छ,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– ‘डडेल्धुरा अस्पताल नै आधार संकायका रूपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने छ ।’ प्रतिष्ठानका रूपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेकोमा मन्त्रिपरिषद्ले मेडिकल कलेजको रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

सोही निर्णयपछि जेठ १५ गते सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको योजना अटायो । बजेटमा नै ’डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने’ उल्लेख भएपछि जिल्लावासी डाक्टर उत्पादनको सपना बुन्न थाले । 

०७८ साल फागुन अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, प्रशासन महाशाखा प्रमुख अशोकसिंह भण्डारी सहितको टोलीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिएको थियो । स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको विज्ञ टोली तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत डडेल्धुरा मेडिकल कलेजको लागि जग्गा र अन्य प्राविधिक पाटोका विषयमा जानकारी लिन निर्देशन दिएपछि विश्वविद्यालयको टोली डडेल्धुरा पुगेको थियो । उक्त टोलीले जिल्लामा मेडिकल कलेज सञ्चालनको निर्णय उपयुक्त भएको ठहर गरेको थियो ।

स्थानीय तह निर्वाचनअघि गृहजिल्ला डडेल्धुरा पुगेका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक मेडिकल कलेज स्थापना हुने ठोकुवा गरेका थिए । धेरैले यसलाई चुनावी फण्डा भएको बताए । निर्वाचनपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको योजना जसरी पनि कार्यान्वयन गर्ने दाबी गर्दै आएका थिए । असार पहिलो साता सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै तत्कालिन कुलपतिसमेत रहेका देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने ठोकुवा गरेका थिए । ‘यसै वर्षदेखि सुदूरपश्चिम विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउँदैछौं,’ तत्कालिन प्रधानमन्त्री देउवाले भनेका थिए, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ । डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुन्छ ।’

त्यसपछि जिल्लास्तरीय समन्वय समिति गठन गर्दै मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाइयो । अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा गठन गरिएको समितिले जग्गा प्राप्तीका लागि पहल थाल्यो । अहिले मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको डकले नजिक ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । यसै सातामात्रै डडेल्धुरा मेडिकल कलेजले अध्यापन अनुमित पाएको छ । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो । त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले बताए । अब आयोगले कार्तिक १८ गते इन्ट्रान्स लिने र त्यसपछि विद्यार्थी पठाउने जानकारी प्राप्त भएको ओझाले जानकारी दिए । माघदेखि कक्षा सञ्चालनको तयारी रहेको छ । 

आयोगले यसअघि डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो । ‘ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डडेल्धुरा मेडिकल कलेजका डिन जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीन वटा थियो तर अहिले एउटा पाइएको छ । यो पनि उपलब्धि हो ।’ उनले थप विषयको अध्यापनका लागि फेरि आवश्यक प्रक्रिया पूरा गर्ने तयारी थालिएको जानकारी दिए । मेडिकल कलेजको कलेज भवन लगायतका भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update