Paschim Express
जाजरकोट भूकम्प: मृतकको संख्या घट्यो

जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ। स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो। तर, जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार नलगाड नगरपालिका ८ की सरिता सिंह, नलगाड ७ का रेगम सिंह, नलगाड १२ की मिना बिष्टको नाम दोहोरिएको हो। त्यस्तै टेकबहादुर पुनको व्यक्ति एकै र नाम दुई हुँदा संख्या दोहोरिएको थियो। जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ। त्यस मध्ये २८ महिला १४ पुरुष छन्।

जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको गरी १ सय १ जनाको मृत्यु भएको छ। त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको संख्या जम्मा १ सय ५३ मात्र निश्चित भएको प्रशासनले बताएको छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update