Paschim Express
साकार हुँदै डडेल्धुरावासीका सडक सपना
उग्रतारा–मेलौली सडक

डडेल्धुरा । वर्षदिन अगाडिसम्म पनि अजयमेरु गाउँपालिकाका रोशन ऐरलाई वडा नम्बर २ को चमडाबाट डडेल्धुरा जिल्ला सदरमुकामसम्म पुग्न समस्या नै थियो । ‘दैनिक रुपमा सार्वजनिक सवारीसाधन चल्ने भए पनि सडक धुलाम्य थियो,’ ऐर भन्छन्, ‘जिल्ला सदरमुकामसम्म पुग्दा धुलोले मान्छेलाई चिन्नै गाह्रो हुन्थ्यो । तर, अहिले चमडासम्म सडक पक्की भएको छ । आवतजावतमा निकै सहजता भइरहेको छ ।’ ऐरले जिल्ला सदरमुकाम आवतजावत गर्दा प्रयोग गर्ने राजमार्ग हो, उग्रतारा–मेलौली । 

उग्रतारा मन्दिर छेउको रातागौनदेखि अजयमेरुको चमडासम्म (बिचमा तीन किलोमिटरबाहेक) अहिले उक्त सडक कालोपत्रे छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको मेलौली हुँदै पञ्चेश्वर गाउँपालिकासम्म जोड्ने उक्त राजमार्गको थप ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि यसवर्ष साढे १६ करोड रकम छ । संघीय सरकारले १५ करोड र प्रदेश सरकारले डेढ करोड उक्त सडक कालोपत्रेका लागि विनियोजन गरेको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

 ‘गत वर्ष अजयमेरु गाउँपालिकाको वडा नम्बर १ बयलडाँडादेखि वडा नम्बर २ चमडा सम्मको १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का भएको थियो,’ कार्यालय प्रमुख नवराज रावलले भने, ‘तर निर्माण व्यवसायीले ढिलाई गर्दा ७ किलोमिटर मात्रै कालोपत्रेको काम सम्पन्न भयो । बसाना गाड क्षेत्रमा बाँकी रहेको तीन किलोमिटर सडक कालोपत्रे यस वर्ष हामी गर्छाै ।’

उनका अनुसार बसना गाडमा पुल निर्माणका लागि पनि एक करोड बजेट छुट्याइएको छ । ‘पुल निर्माणका लागि पनि चालू आर्थिक वर्षभित्रै ठेक्का गर्छाै,’ उनले भने । यस्तै संघीय सरकारले १५ करोड बजेट विनियोजन गरेपछि सडक डिभिजन कार्यालय कुलपाते डोटीले चमडा अगाडिको सडक खण्डमा कालोपत्रे गर्ने भएको छ । 

कार्यालयका इन्जिनियर पदम पन्तका अनुसार चालू आर्थिक वर्षमा कुलपातेमार्फत कम्तिमा पनि ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । उग्रतारा–मेलौली राजमार्गअन्तर्गत पहिलोपटक आर्थिक वर्ष २०७४÷०७५ मा अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ बयलडाँडासम्म ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । गत वर्ष ७ किलोमिटर कालोपत्रे गरिएकोमा यस वर्ष थप ६ किलोमिटर कालोपत्रे हुने भएको हो । 

लामोसमयदेखि चर्चामा रहेको तर कालोपत्रे हुन नसकेको सडक हो, भात्काँडा–बडाल–रेल हुँदै उच्चाकोट जोड्ने सडक । तर उक्त सडक पनि कालोपत्रेको काम चालू आर्थिक वर्षदेखि सुरु हुने भएको छ । संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय डोटी र प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामार्फत सडक कालोपत्रेको योजना अगाडि बढ्ने भएको हो । 

सडक डिभिजन कार्यालय डोटीले भात्काँडादेखि रुवाखेलासम्म सडक कालोपत्रे गर्नका लागि ३ वटा ठेक्का गरेको छ । कार्यालयका इन्जिनियर पदम पन्तका अनुसार भात्काँडादेखि ५ किलोमिटर सडक कालोपत्रे गर्न अनक जोशी मालिका जेभीले ९ करोड ६५ लाखमा ठेक्का पाएको छ । ‘उक्त निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको एक वर्षभन्दा बढी भइसकेको छ,’ पन्तले भने, ‘सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेश नहुँदा समस्या भएको हो । तर, अहिले रुख कटानीको आदेश पाएर रुख काट्ने काम पनि सम्पन्न भइसकेको छ । अब कालोपत्रेको काम सुरु हुन्छ ।’ 

पन्तका अनुसार थप २ किलोमिटर सडक कालोपत्रेका लागि ७ करोडमा एसके कालिका जेभीसंग ठेक्का सम्झौता भइसकेको छ । ‘चालू आर्थिक वर्षमा पनि बजेट विनियोजन भएपछि ६ करोडको ठेक्का फेरि आह्वान गरेका थियौं,’ उनले भने । तीन वटै ठेक्का कार्यान्वयन भए भात्काँडादेखि रुवाखोलासम्म कालोपत्रे हुने देखिएको छ । 

त्यसअगाडि भने प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले कालोपत्रे गर्ने जनाएको छ । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले रुवाखोलादेखि बडालसम्म कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयलाई बहुवर्षीय ठेक्का खोल्न निर्देशन दिइसकेका छन् । भात्काँडा रेल सडक पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको गाउँ जाने सडक पनि हो । ०५१ सालमा खाद्यान्नका लागि काम भन्ने संस्थाद्धारा सुरुवात गरिएको भात्काडा–रेल सडक जिल्लाका अन्य मुख्य ग्रामिण सडक जस्तै पुरोनो हो । 

सडक डिभिजन कार्यालय डोटीसंग जोगबुढा–शिर्ष–रुपाल सडकका लागि पनि बजेट छ । कार्यालयका इन्जिनियर पन्तका अनुसार उक्त सडक कालोपत्रे र स्तरोन्नतिका लागि १० करोड बजेट रहेको छ । ‘गैरा–गाङखेत हुँदै आलिताल जोड्ने सडक कालोपत्रेका लागि पनि १० करोड बजेट छ,’ पन्तले भने, ‘सल्लाघारी, उग्रतारा, आइतबजार जोड्ने सडक कालोपत्रे गर्ने योजना पनि रहेको छ । त्यसका लागि १० करोड बजेट प्राप्त भएको छ ।’

यस्तै पोखरा–बेलापुर सडक, बगरकोट–सीराड सडक स्तरोन्नतिका लागि १०÷१० करोड, दैजी–लिप्ना–जोगबुढा सडकका लागि ३० करोड बजेट प्राप्त भएको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । यस्तै डडेल्धुरा जिल्ला सदरमुकामको सडक विस्तारका लागि पनि कार्यालयले प्रक्रिया अगाडि बढाएको छ । सडक क्षेत्रमा पर्ने संरचना हटाउने काम भइरहको छ भने सडकको क्षेत्राधिकार खाली भएपछि ठेक्का आह्वानको तयारीमा सडक डिभिजन कार्यालय कुलपाते रहेको छ । जिल्ला सदरमुकामको सडक ३० मिटर चौडा कालोपत्रे हुने छ । 

यस्तै सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधकार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयमार्फत पनि दर्जनौ सडक योजनामा काम भइरहेको छ । सकयाल–कैलपालमाण्डु हुँदै रेल जोड्ने सडक स्तरोन्नतिका लागि ५५ लाख, दैजी–लिप्ना–जोगबुढा–चिर्किट्टे–पोखरा सडका लागि चार करोड, कटाल–परशुरा पर्यटकीय सडका लागि ५० लाख, बगरकोट–सीराड–रुपाल सडका लागि एक करोड ४० लाख, डडेल्धुरा अस्पताल जोड्ने सडक कालोपत्रेका लागि एक करोड, अमरगढी–तल्लो सिलिङधारा सडकका लागि ६० लाख, बगरकोट, बोगटा हुँदै रुपाल जोड्ने सडका लागि ५० लाख, साहुखर्क–उणिकोट सडकका लागि ४० लाख, घनकाट–कोटेली सडकका लागि ४० लाख, दाणिम–तलकोट सडकका लागि ४० लाख बजेट पूर्वाधार विकास कार्यालय डडेल्धुरालाई प्राप्त भएको छ । 

यस्तै महाकाली करिडोरको डडेल्धुरा खण्डमा पनि काम भइरहेको छ । तीन वर्षअघि महाकाली करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको सीमा कौवानीसम्म झन्डै ११ किलोमिटर सडक विस्तारका लागि ठेक्का भएको थियो । तर, सडकमा पर्ने रूख कटानीको आदेश नपाएपछि काम रोकिएको थियो । सडकमा पर्ने रूख काट्न अनुमति नपाएपछि रोकिएको काम वैशाख दोस्रो सातादेखि पुनः सुरु भएको बताइएको छ । यस्तै राजमार्गअन्तरगत डडेल्धुराको भागेश्वर गाउँपालिका क्षेत्रमा ट्रयाक खोल्ने काम रोकिएको छ । भागेश्वरमा पर्ने ३१ किलोमिटर क्षेत्रमा रहेका रुख कटान गर्ने आदेश नपाएपछि काम रोकिएको हो । महाकाली करिडोर सडक बिस्तारका लागि गत आर्थिक वर्षमा ५४ करोड खर्च भएको थियो भने यो वर्ष संघीय सरकारले २९ करोड ६० लाख बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update