Paschim Express
डडेल्धुरा प्रहरी ‘चोर’ पक्राउ गर्न असफल

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा शृङ्खलाबद्ध रुपमा चोरीका घटना बढ्दै गएका छन् । चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न भने प्रहरी असफल बन्दै गएको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ विद्युत रोडमा रहेको एक घरबाट सुन चोरी भएको ६ दिन पुगेको छ ।

गत शुक्रबार स्थानीय तारा बोहराको घरमा बस्ने उत्तमसिंह कार्कीको कोठाबाट साढे पाँच तोला सुन चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार चोरीमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन । ‘चोरी भएको कोठामा एकजना व्यक्तिको मोबाइल र कोठाबाहिर अर्का एकजनाको जुत्ता फेला परेको छ,’ डीएसपी कार्कीले भने, ‘उनीहरु दुबै जनासंग सोधपुछ भइरहेको छ । तर, चोरीमा कसको संलग्नता छ भन्ने विषय अझै टुंगोमा पुगेको छैन । हामी अनुसन्धानमै छौं ।’

यस्तै जिल्ला सदरमुकामको बागबजार नजिक बगरकोट जाने बाटोमा पनि चोरी भएको एक साता पुग्न लागेको छ । उक्त चोरीमा संलग्न व्यक्तिलाई पनि पक्राउ गर्न नसकिएको डीएसपी कार्कीले बताए । ‘सीसीटिभी फुटेजमा चोरीमा संलग्न व्यक्तिको अनुहार मधुरो देखिएका कारण चोरीमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन,’ उनले भने । 

यस्तै कात्तिक १५ गते डडेल्धुराको परशुराम नगरपालिका–४ लटेरोडा कटालस्थित वडा कार्यालयमा तोडफोड गरी चोरी भएको थियो । कार्यालयभित्र रहेका फर्निचर तोडफोड गरि राजस्वबापत संकलन भएको १३ हजार ८ सयसमेत चोरी भएको थियो । उक्त चोरीमा संलग्न रहेको आरोपमा भने प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

परशुराम नगरपालिका–४ कटाल घर भएका २३ वर्षीय नरेन्द्र नेगी र सोही ठाँउ बस्ने वर्ष १९ का हरि थापालाई पक्राउ गरिएको हो । यसैगरी अमरगढी नगरपालिका–११ का शिवराज बोहराको घरबाट नगद चोरी गरेको आरोपमा पनि एकजना पक्राउ परेका छन् । उनकै भतिजा नाता पर्ने नाबालकलाई चोरी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update