Paschim Express
डडेल्धुरा सदरमुकामको सडक बिस्तारमा हातेमालो गर्न नेविसंघको अपिल

डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकामको सडक विस्तारमा सबैसँग हातेमालो गर्न आग्रह गरेको छ। आज नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले सडकको मापदण्ड अनुरुप डडेल्धुरा बागबजारको सडक विस्तारमा साथ, सहयोगका लागि सार्वजनिक अपिल गरेका हुन्।

अपिलमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघ डडेल्धुरा सदैव व्यवस्थित र दिर्घकालिन दिगो विकासका पक्षमा आफ्ना गतिविधि केन्द्रित गराउदै आएको छ। समायनुकुल आर्थिक, सामाजिक र भौतिक विकास समाज रुपान्तरणका मुख्य आधार भएकोले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई अंगिकार गरि समयसापेक्ष दिगो विकासका पक्षमा नेपाल विद्यार्थी संघ डडेल्धुरा दृढ छ।’

लामो समयदेखि डडेल्धुरा जिल्लाको सदरमुकाम बागवजारदेखि पोखरासम्म साघुँरो सडकका कारण सदरमुकामको वजार व्यवस्थापनमा कठिनाई हुनुका साथै स्थानीय जनताले सवारी आवागमनमा कठिनाई झेल्नु परेको र वजारमा खुल्ला रुपमा सडकमा पैदलयात्रा गर्न समेत कठिनाई भईरहेको नेविसंघ डडेल्धुराले जगजाहेर गरेको छ।

‘सडक विस्तारका लागि वजेट व्यवस्थापन भई मुआब्जा वितरणको काम केही सम्पन्न भइसकेको र बाँकि मुआब्जा रकम आउने कम जारिछ। वर्तमान परिस्थितिमा सुदूरपश्चिमका पहाडी जिल्लाको मुख्य केन्द्रका रुपमा डडेल्धुरा जिल्लालाई विकास गर्नुपर्ने र सदरमुकामको वजारलाई व्यवस्थापन गरि सवारी आवागमन सहज बनाई स्थानीय जनताले भोगिरहेका समस्याहरुको अन्त्य गर्नुपर्ने प्रमुख आवश्यकतालाई मध्यनजर गरी हाल भइरहेको सडक विस्तार कार्यमा आम डडेल्धुरा वासीले आ–आफ्नो ठाउँवाट हातेमालो गरी साथ, सहयोग गर्नका लागि सबैलाई नेपाल विद्यार्थी संघ डडेल्धुरा सार्वजनिक आव्हानसहित अनुरोध गर्दछ,’ अपिल पत्रमा भनिएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update