Paschim Express
डडेल्धुराको अजयमेरुमा सुरु भयो भलिबल प्रतियोगिता

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजनामा सुरु भएको सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिताको सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले पानसमा दिप प्रज्वलन गर्दै उद्धाटन गरिन ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले अजयमेरुको वडा नम्बर ६ ले युवा जनप्रतिनिधि पाएदेखि नै थुप्रै काम गरेको भन्दै प्रशंसा गरिन । ‘वडा नम्बर ६ ले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत विकास निर्माणको क्षेत्रमा थुप्रै काम गरेको छ,’ उनले भनिन्, ‘वडा नम्बर ६ बाट अन्य वडाले पनि सिक्नुपर्छ ।’

कार्यक्रमका विशिष्ट अतिथि अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता आयोजना गरेकोमा वडा नम्बर ६ लाई धन्यवाद दिँदै वडावासीलाई सक्रिय सहभागिताका लागि अनुरोध गरे ।

वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारीका अनुसार ‘भाषा, साहित्य, खेलकुद र संस्कृति, हातेमालो गरी हटाऔं सामाजिक विकृति’ भन्ने मूल नाराका साथ सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता आयोजना गरिएको हो । ‘स्थानीयस्तरको खेल प्रतिभालाई उजागर गर्दै खेलाडी उत्पादन गर्न तथा स्थानीय कला र संस्कृतिको संरक्षण गर्नका लागि सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता आयोजना गरेका हौं,’ वडा अध्यक्ष भण्डारीले भने । 

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ७७ हजार सात सय ७७, दोस्रो हुने टिमलाई ५५ हजार पाँच सय ५५, तेस्रो हुने टिमलाई ३३ हजार तीन सय ३३ र सान्तोना हुने टिमलाई ११ हजार एक सय ११ नगद पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट स्पाइकर, लिफ्टर र सेटरलाई तीन हजार तीन सय ३३ नगद प्रदान गरिने वडा अध्यक्ष भण्डारीले बताए ।

भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम चेतना मावि राजुलमा भइरहेको छ । उद्धाटन कार्यक्रममा अजयमेरु गाउँपालिकाका उपाध्यक्ष बसन्ती पाल, गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवा, गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मनोज देउवा, अजयमेरु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष शिवराज भट्ट, वडा नम्बर ५ का अध्यक्ष राजबहादुर पाल लगायतको पनि सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update