Paschim Express
सुदूरपश्चिममा कहाँ-कहाँ खुल्दैछन् सुपथ मूल्य पसल ?

डडेल्धुरा । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्यसहित सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।
सुदूरपश्चिममा कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ७ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले अत्तरिया र धनगढीमा सुपथ मूल्य पसलसहित एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालन हुने जनाएको छ ।
मंसिर ३ गतेसम्मको लागि चाडपर्वको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी भइरहेको हो । सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन लगायतका सामग्री बिक्री वितरण गरिने तयारी छ । चाडपर्वका समयमा सर्वसाधारणले दैनिक उपभोग गर्ने दाल, चामल, नुन, चिनी, तेलदेखि घ्यू लगायतका खाद्य वस्तुहरू बजार भाउभन्दा कम मूल्यमा सरकारले बेच्ने दाबी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update