Paschim Express
डडेल्धुरामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न ३ करोड बजेट, जग्गा प्राप्तीमा समस्या

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले जिल्लाको अमरगढी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न तीन करोड बजेट छुट्याएको हो । तर, फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्ती गर्न नसक्दा समस्या भएको छ । 

फोहोर व्यवस्थापनकै विषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक बसेको छ । बैठमा अमरगढी नगरपालिका वडा नम्बर ६ को भजनेउटा नजिक गुणाकर भाटको जमिन खरिदको प्रक्रिया अगाडि बढेको नगर प्रमुख डिल्लीराज जोशीले जानकारी दिए ।

उक्त जग्गाको मूल्य सरकारी दररेटभन्दा बढी गरिएकाले खरिद प्रक्रियामा ढिलाई भएको उनको भनाई छ । वडा नम्बर १ मालम गाउँवासीले गत साउन महिनामा आन्दोलन गरेपछि तीन महिनाभित्र फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो ।

मालम जाने बाटो अर्थात् वडा नम्बर २ को दर्ता जमिनमा नगरपालिकाले फोहोर फाल्दै आएको थियो । मालम गाउवासीसंग गरिएको तीन महिनाको सम्झौता बुधबार सकिएको छ । सम्झौता सकिएपछि मालमवासीले सो क्षेत्रमा फोहोर फाल्न दिएका छैनन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update