Paschim Express
डडेल्धुरा र कैलालीका ४ जना झण्डै २ करोड भारतीय रुपैयाँ बराबरको धनमाल चोरेर फरार 

धनगढी । डडेल्धुरा र कैलालीका चार जना युवायुवती एक करोड ९५ लाख भारतीय रुपैयाँ बराबरको धनमाल चोरेर फरार भएका छन् । भारतको हरियाणा राज्यको गुडगाँउ डीएलएफ–१ स्थित व्यापारी अचर्ल गर्गको घरबाट एक करोड ९५ लाख भारतीय रुपैयाँ बराबरको धनमाल चोरेर उनीहरु फरार भएका हुन् ।

एक करोड ५० लाख भारतीय रुपैयाँ बराबरको सुन र चाँदी, ३५ लाख भारतीय रुपैयाँ नगद र १० लाख पर्ने इनोभा गाडी चोरी भएको अचल गर्गको जाहेरीमा उल्लेख छ । 

२६ अक्टोबर राति भारतीय व्यापारी गर्गको घरबाट उनका ६० वर्षीय बुवा पुरुषोत्तम गर्ग र आमा अनिता गर्गलाई खानामा विषादी हालेर बेहोस बनाई चार जना नेपाली धनमाल चोरेर फरार भएका हुन् ।

नेपाल प्रहरीले चारै जनाको खोजी गरिरहेको जनाएको छ । उनीहरुलाई भारतीय सीमकार्ड उपलब्ध गराउने एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले कैलालीको गोदावरी नगरपालिका–८ स्याँउलेका ३० वर्षीय बाजी भुललाई कात्तिक १६ गते पक्राउ गरेको जनाएको छ । 

प्रहरीका अनुसारमा चोरीमा धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका शंकर भुल, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेका अमर भुल, डडेल्धुरा आलितालका बिरेन्द्र सार्की र कैलालीको सुगरखालकी यशोदा विश्वकर्मा संलग्न छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update