Paschim Express
आयोजकले जित्यो डडेल्धुराको अजयमेरुमा भएको भलिबल प्रतियोगिताको उपाधि 

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ६ मा भएको भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । वडा नम्बर ६ को आयोजनामा भएको भलिबल प्रतियोगिताको उपाधि अजयमेरु गाउँपालिका वडा नम्बर ६ को टिम ‘ए’ले जितेको हो ।

उसले फाइनलमा वडा नम्बर ५ लाई ३–१ को सेटले पराजित गरेको हो । उपाधिसंगै आयोजकको टिम ‘ए’ले ७७ हजार सात सय ७७ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै दोस्रो भएको अजयमेरु गाउँपालिका वडा नम्बर ५ को टिमले ५५ हजार पाँच सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

यस्तै गंगेश्वर समैजी युवा क्लबलाई २–१ को सेटले पराजित गर्दै भागेश्वर गाउँपालिका वडा नम्बर १ को टिम तेस्रो भएको छ । तेस्रो भएको भागेश्वर गाउँपालिका वडा नम्बर १ ले ३३ हजार तीन सय ३३ र सान्तोना भएको हुने गंगेश्वर समैजी युवा क्लबले ११ हजार एक सय ११ नगद पुरस्कार प्राप्त गरेको छ ।

सर्वोत्कृष्ट स्पाइकर, लिफ्टर र सेटरलाई तीन हजार तीन सय ३३ नगद प्रदान गरिएको आयोजक अजयमेरु गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हरि भण्डारीले जानकारी दिए । बिजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । 

वडा अध्यक्ष भण्डारीका अनुसार ‘भाषा, साहित्य, खेलकुद र संस्कृति, हातेमालो गरी हटाऔं सामाजिक विकृति’ भन्ने मूल नाराका साथ सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

‘स्थानीयस्तरको खेल प्रतिभालाई उजागर गर्दै खेलाडी उत्पादन गर्न तथा स्थानीय कला र संस्कृतिको संरक्षण गर्नका लागि सांस्कृतिक कार्यक्रमसंगै भलिबल प्रतियोगिता आयोजना गरेका हौं,’ वडा अध्यक्ष भण्डारीले भने । भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम चेतना मावि राजुलमा भएको हो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update