Paschim Express
धनगढीबाट मुक्तिनाथको यात्रामा हिँडेका २ जना देवघाटमा डुबेर बेपत्ता

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएको टोलीका २ सदस्य डुबेर बेपत्ता भएका छन्। वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका २ युवक देवघाटमा पौडी खेल्दा बेपत्ता भएका हुन्।

आज(बिहीबार)बिहान कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका बताइएको छ।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्रामा गएका भारतको असम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका बताइएको छ। पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए।

आइतबार धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि पठाएको थियो। धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको थियो।

बेपत्ता दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update