डडेल्धुरा । उमेरले ५२ पुगेका थानेश्वर भण्डारी १४ वर्ष विदेश बसे। डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोला घर भएका उनले ८ वर्ष मलेसिया र ६ वर्ष भारतमा पसिना बगाए। त्यहाँ महिनाको २८ हजार भारतीय रुपैयाँसम्म तलब खाने उनलाई एकदिन छोराले एउटा सुझाव दिए।
‘बुवा कति अरुको जागिर गर्नु्हुन्छ, अब आफ्नै ठाउँमा केही गरौं’ ३ वर्षअघि छोराले गरेको त्यो जिद्धी उनले सम्झे। हुन पनि कागजको गत्त निर्माण गर्ने कम्पनीको कामका ज्यानको जोखिम थियो। ठुला–ठुला मेशिन चलाउनु पर्दा धेरैले हात गुमाएको तितो दृश्य सम्झँदै उनले वैदेशिक रोजगारी त्यागेर स्वदेश फर्कने निधो गरे।
त्यसपछि छोराकै सहयोगमा कालिज पालन सम्बन्धि विभिन्न खोज तथा अनुसन्धान गरेर भण्डारीले कालिज पाल्ने निधो गरे। करिब १५ लाख लगानी गरेर उनले सुरुमा कैलालीको चुरे गाउँपालिका–५ खानीडाँडामा कालिज फर्म खोले। उनलाई श्रीमतीले पनि साथ दिइन्।
काठमाडौंबाट २ हजारका दरले चल्ला ल्याएर उनले त्यहाँ करिब ढाई वर्ष फर्म चलाए। त्यो दौरानमा वर्षको १५ लाख जति आम्दानी भएको उनी सुनाउँछन्। ‘तर पछि खानीडाँडामा धेरैले कालिज फर्म खोले, जसका कारण प्रतिस्पर्धा बढ्यो’ थानेश्वर भन्छन्, ‘त्यो ठाउँ जंगलमा थियो। म बाहिर बढी जाने भएकाले श्रीमती एक्लै हुन्थीन्। फेरि मेरो घर यता। त्यसैले अहिले गृह जिल्लामै फर्केको छु।’
अहिले थानेश्वरले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्थित मौरडामा कालिज फर्म सुरु गरेका छन्। भागेश्वर कालिज कृषि तथा पशपंक्षी नाम राखेर उनले मौरडामा करिब ५ रोपनी जग्गा भाडा लिएर फर्म सुरु गरेका हुन्। सुरुमा १५ लाख लागेको लगानी बढेर अहिले २० लाख पुगेको छ। डडेल्धुरामा सुरुमा ३५० चल्ला राखेकोमा वर्षाको भेलले क्षति गर्दा २ सय चल्ला मरेको तितो अनुभव उनी सुनाउँछन्। उनी भन्छन्, ‘केही अन्य कारणले पनि मरे। अहिले जालीभित्र १२५ कालिज हुर्कदैछन्। उता खानीडाँडामा एउटा कालिज ३ हजारका दरले विक्री हुन्थ्यो यता कतिसम्म दाम पाइन्छ हेरौं।’
आफ्नै कमाईबाट काम, कसैबाट भएन प्रोत्साहन
थानेश्वर भण्डारीले आफ्नै कमाईबाट कालिज फर्म खोलेका हुन्। उनले केवल ३ लाख मात्रै ऋण लिएको बताए।
‘हुन त आजभोलि कृषकहरुलाई सरकारबाट धेरै अनुदान पाइन्छन्। तर मेरो श्रम कसैले देखेको छैन। जिल्लामा कालिज पाल्ने कमै होलान्। तर आजसम्म मेरो फर्म हेर्न अथवा अनुगमनमा कुनै सरकारी निकाय आएको छैन’ उनी भन्छन्, ‘मलाई अनुदान चाहिएको हैन। तर सरकारका तर्फबाट मेहनतको कुुनै प्रोत्साहन नै छैन।’
कालिज पालनमा धेरै जोखिम नहुने अनुभव सुनाउँदै थानेश्वर जंंगली जनावरबाट भने कालिज बचाउनुपर्ने बताउँछन्। अर्को कुरा, थानेश्वरलाई डडेल्धुराको बजारीकरणमा समस्या हुने चिन्ता भने छ। ‘तराई नजिक भएकाले खानीडाँडामा सजिलै कालिजले राम्रो मुल्य पाउँथ्यो। यता भने अलि समस्या होला जस्तो छ। तर पूराना ग्राहकलाई सम्पर्क गरेर त्यो समस्या समाधान भइहाल्ला’ उनले भने।
उसो त थानेश्वरले आफ्नो कृषि फर्मलाई थप बिस्तार गर्ने योजना समेत बनाएका छन्। उनले मौरडामै च्याउ तथा तरकारी खेती गर्ने योजना बनाएको सुनाए। उनले लागुऔषधको दुव्र्यसनीमा फस्ने तथा वैदेशिक रोजगारीमा जाने युवालाई आफ्नै देशमा श्रम गरेर स्वरोजगार हुन सुझाव दिएका छन्।