Paschim Express
विश्वकप क्रिकेटको उपाधि भिडन्त आज

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज (आइतबार) भारत र अस्ट्रेलिया भिड्दैछन्। खेल भारतीय राज्य गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नेपाली समयानुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ। 

विश्वकप क्रिकेटको इतिहासमा भारत र अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि भिड्दैछन्। १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको भारत उपाधिका लागि तीव्र दबाबमा छ। ५ पटकको विश्वविजेता अस्ट्रेलियाले पनि उपाधिका लागि कुनै ‘कसर’ बाँकी राख्ने छैन। 

भारतले हालसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ। सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकपको उपाधि हात पारेको थियो। अस्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि चुमेको थियो। 

भारतले हालसम्म ३ पटक विश्वकप क्रिकेटको फाइनल खेलेको छ। जसमध्ये २ मा जित हात पारेको छ। अस्ट्रेलियाले ७ पटक फाइनल खेल्दा ५ पटक उपाधि चुमेको छ। 

विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबीच यसअघि १ पटक, सन् २००३ मा प्रतिस्पर्धा भएको थियो। उक्त म्याचमा भारतविरुद्ध १२५ रनको सानदार जित निकाल्दै अस्ट्रेलियाले विश्वकपको उपाधि चुमेको थियो। 

दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको फाइनल खेलमा सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा मात्र २ विकेट गुमाएर ३५९ रन बनाएको थियो। ३६० रनको विजयी लक्ष्य पछ्याएको भारत ३९.२ ओभरमा मात्र २३४ रन बनाएर अलआउट भएको थियो। तर २००३ र २०२३ को टिम इन्डियामा धेरै फरक रहेको र १२ वर्षपछि फाइलन पुगेको भारतीय टिम धेरै बलियो भएको विश्लेषकहरुको दाबी छ।

जारी विश्वकपको आफ्नो पहिलो म्याचमा नै अस्ट्रेलिया र भारतले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए। जुन म्याचमा अस्ट्रेलियाविरुद्ध भारत ६ विकेटले विजयी भएको थियो।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update