Paschim Express
डडेल्धुरामा जात्राको रौनक, कुन मेला कहिले हुँदैछ ?

डडेल्धुरा । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसंगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसंगै जात्राको रौनक सुरु भएको हो । तिहारको दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णीमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको कैलपाल देवताको जात्रा सोमबार भइरहेको छ । वडा अध्यक्ष नरेन्द्रकुमार भट्टका अनुसार आइतबार रतेडी र सोमबार दिउसेडी भइरहेको हो । कैलपाल देवताको जात्राका लागि विभिन्न गाउँबाट देउरो आउने गर्छ । 

यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ मा बडाल जात्रा मंसिर ८ गते हुने भएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मनोज देउवाले मंसिर ७ गते रतेडी र मंसिर ८ गते दिउसेडी हुने जानकारी दिए । लाटागन्याप देवताको भक्ति स्वरुप बनाइने चौलोले प्रख्यात बडाल जात्रामा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ । 

यस्तै डडेल्धुराको भागेश्वर गाँउपालिका–२ मा अवस्थित भागेश्वर मन्दिरमा मंसिर १० गते राती मेला लाग्ने भएको छ । धुराइ जाँतका नामले परिचित उक्त मन्दिरमा मंसिर १० गते  राती मेला लाग्ने जनाइएको छ । सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थल रुपमा रहेको भागेश्वर मन्दिरमा वर्षको चार पटक पूजा गर्ने प्रचलन भए पनि मेला भने वर्षमा दुई पटक लाग्ने गर्दछ ।

यस्तै सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ मंसिर १२ गते लाग्ने भएको छ । मंसिर ११ गते रतेडी र १२ गते दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान देउरो आएपछि दिउसेडी मेला सुरु हुन्छ ।

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित शक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पुग्छन् । किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । 

यस्तै डडेल्धुराको प्रसिद्ध जगन्नाथ मेला मंसिर १३ गते लाग्ने भएको छ । स्थानीय भाषामा ‘खोलेइ जाँत’ नामले परिचित जगन्नाथ मंसिर १२ गते रतेडी र १३ गते दिउसेडी मेला लाग्ने भएको हो । अजयमेरु गाउँपालिका ३ र ४ को मध्य भागमा रहेको जगन्नाथ मन्दिरमा मेला लाग्ने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update