Paschim Express
सुदूरपश्चिमको राजधानीमा कार्यालय खोली ठगी धन्दा, आधा करोडसहित ९ जना पक्राउ

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अनलाइनबाट ठगी गर्ने गिरोह सक्रिय भएको छ । अवैध रूपमा आइटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, दुर्घटना बिमा लगायतको प्रलोभनमा पारी अनलाइनमार्फत ठगी गर्ने गिरोह सक्रिय भएको हो । यस्तै अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका वडा नम्बर ५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई।टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।


उनकाअनुसार पक्राउ पर्नेमा डोटीको शिखर  नगरपालिका वडा नम्बर १० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने  २६ को कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने बर्ष २४ को निखिल कुमार रहेका छन् ।

यस्तै भारतको दिल्ली बस्ने  १९ वर्षीय प्रियंसु टापु,  कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय  मिनबहादुर सुनार, बेल्डाडी गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय विशाल सुनार,  २८ वर्षका कमल सुनार र २२ वर्षीय  जयराम सुनार रहेको डीएसपी चन्दले बताए ।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, दुर्घटना बिमालगायत विषयमा प्रलोभनमा पारी  पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै उक्त गिरोहका नाइकेको घरबाट ठुलो रकम बरामद गरिएको छ । ठगी धन्दाका मुख्य नाइके  रहेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update