Paschim Express
डोटीमा ५ जना करदाता सम्मानित

डोटी । करदाता सेवा कार्यालय डोटीले पाँच जना करदातालाई सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा सबै भन्दा बढी कर तिर्ने करदाताहरूलाई एक औपचारिक कार्यक्रम बिच सम्मान गरेको करदाता सेवा कार्यालय डोटीका निमित्त प्रमुख वीर बहादुर ठगुन्नाले जनाएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा सबै भन्दा बढी कर तिर्ने उत्कृष्ट करदाताको रूपमा एस। जी फ्युल सेन्टरका सञ्चालक प्रेमबहादुर भण्डारी, डाँफे। पिएस। जे भीका सञ्चालक प्रेमशंकर भट्ट, बड्डा सप्लायर्स दिपायलका योगेन्द्र सिं माझी, जे।बी ट्रेडर्स दिपायलका जङ्गबहादुर रावल, सोभा ट्रेडर्स एण्ड अडर सप्लायर्सका सञ्चालक गोपाल सिंह भाटलाई सम्मान गरिएको हो ।

सम्मानित भएका करदाता भण्डारीले १० लाख १० हजार ८ सय ९२रुपैयाँ, भट्टले ५ लाख ९४ हजार ९२ रुपैयाँ, माझिले ५ लाख ५४ हजार ८ सय ६ रुपैयाँ, रावलले ५ लाख ४१ हजार ५ सय ६२ रुपैयाँ र भाटले ४ लाख ९५ हजार ९ सय ३७ रुपैयाँ कर दाखिला गरेका थिए ।

दिवसकै अवसरमा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीको रूपमा डाटा इन्ट्री सुपरभाइजर हिक्मत मलासी र कर कार्यालय सहयोगी प्रेम बहादुर मलासीलाई पनि सम्मान गरेको थियो ।

करिब ८ हजार करदाता रहेको डोटीमा लक्ष्य भन्दा बढी कर सङ्कलन भएको निमित्त प्रमुख ठगुन्नाले बताए । आर्थिक वर्ष २०७८र७९ मा कार्यालयले करिब १३ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकोमा करिब २३ करोड सङ्कलन हुँदा लक्ष्य भन्दा १० करोड बढी सङ्कलन भएको बताए ।


पछिल्लो समयमा करदाता सेवा कार्यालयले करमा दर्ता नभएका ब्यवसायीहरुलाई दर्ता प्रक्रियामा ल्याउन स्थानीयतहरुमा कर शिक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै धेरै लामो समय सम्म कर नतिर्ने करदाताहरूलाई फोन र पत्राचार मार्फत कर दाखिला गर्न लगाउने कार्यले कर सङ्कलन वृद्धि भएको कार्यालयले जनाएको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह, सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय ,उद्योगी, व्यवसाय नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update