Paschim Express
राजावादीको निशानामा सहिद भीमदत्त पन्त किन ?

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरिएपछि चौतर्फी विरोध भएको छ । शुक्रबार गणतन्त्रको विरोध र राज संस्थाको पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका रापप्राका नेता–कार्यकर्तासहित स्थानीयले सहिद पन्तको सालिक तोडफोड गरेपछि चौतर्फी आलोचना भएको हो । 

राज संस्थाको पुनःस्थापनाको नाममा सहिदको सालिक तोडफोड गर्नु निकै निन्दनिय कार्य भएको भन्दै सामाजिक सञ्चाजलमा चर्को आलोचना भएको छ । शुक्रबार प्रदर्शनकारीले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए । राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन् ।

मुलुकमा गणतन्त्र ल्याउन भएको आन्दोलनका क्रममा उक्त पार्कमा रहेको राजा महेन्द्रको सालिक तोडिएको थियो । यस्तै तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । यस्तै पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपाले शनिबार कञ्चनपुर बन्द गर्ने घोषणा गरेको छ ।  
 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update