Paschim Express
डडेल्धुराको भागेश्वरमा आज राति ‘धुरा जाँत’, पालिकामा सार्वजनिक बिदा

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकास्थित भागेश्वर मन्दिर आज राति मेला लाग्दैछ । कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर मेला लाग्ने गरेकोमा आज राति उक्त मेला लाग्ने भएको हो । उक्त मेला धुरा जाँतका नामले पनि प्रसिद्ध छ । 

समुद्री सतहदेखि २ हजार बढी मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो । २२ गाउँको ढुङ्गा, काठ, नगद, जिन्सीसहित मिस्त्री पनि ल्याएर भागेश्वरको मन्दिर निर्माण गरिएको किम्बदन्ती छ ।

पहिले भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भए पनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोटबाट मात्रै देउरो जाने गरेको छ । भागेश्वरसँग पासो, कैलपाल, बेताल हुन्छन् । पासो देवता भागेश्वरका प्रमुख द्वारपाल हुन् ।

भागेश्वर रुपाल नौतडीका गुणाकर जोशी र कमलाकर भाट बिहानी नित्यकर्म गर्न नजिकको खोलामा गएको र खोलाको पानी सूर्यलाई चढाउने क्रममा रगत देखेपछि त्यसैलाई पछ्याउँदै गर्दा ’फुटलिङ्ग’ रुपमा अहिले अवस्थित स्थानमै पाएको इतिहास छ ।

सोहीकारण गुणाकर जोशी र कमलाकर भाटका सन्तानले कर्ताको रूपमा यज्ञमा बस्नु पर्दछ । पूजामा गाईको दूध, गङ्गाको जल र पहेलो रङ्ग मात्र चाहिने भएकाले श्रीखण्डको चन्दनबाट पूजा हुने गर्दछ ।

भागेश्वर देवताको दर्शन गर्न सुदुरपश्चिमका नौं वटै जिल्ला लगायत भारतको कमाउ गडवाल बाट पनि धर्मालम्बी आउने गर्दछन् । भागेश्वर मन्दिरमा नजिकसम्म सडक सञ्जालले जोडिएपछि धर्मालम्बी हरुलाई निकै सहज भएको छ ।

यस्तै आज राति परेको मेलाका लागि भागेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँकार्यपालिकाको भदौ १८ गतेको निर्णयानुसार भागेश्वर गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update