Paschim Express
महिलाको राजनीतिमा समान पहुँच बनाउनु पर्नेमा जोड

धनगढी  सुदूरपश्चिमका महिलाहरूको हकहितका लागि ‘धनगढी प्रतिबद्धता २०८०’ जारी गरिएको छ। शनिबार धनगढीमा ‘नेपालमा राजनीतिमा महिला नेत्वृत्वकर्ताहरूको रूपान्तरित नेतृत्व’ विषयक एकदिने समन्वयात्मक कार्यशालामा उक्त प्रतिबद्धता जारी गरिएको हो।

धनगढीमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालले संयुक्त उक्त विषयक एकदिने कार्यशाला आयोजना गरेको हो। महिला नेतृत्व मञ्च, युवा महिला प्लेटफार्म, अन्तर्राष्ट्रिय महिला सञ्जाल र महिला नेतृत्वकर्ताहरूसँग एकदिने समन्वयात्मक कार्यशाला गरिएको आयोजकले जनाएको छ।

शनिबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान पारेर उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा महिलाहरूको हकहितका लागि धनगढी प्रतिबद्धता जारी गरिएको हो। जसमा सबैले प्रतिबद्धता जनाएका छन्।

महिला राजनीतिक सशक्तिकरणको दायरालाई फराकिलो बनाउँदै पहुँच विस्तार गर्नका लागि विभिन्न अभियान एवं कार्यक्रमहरू सञ्चालनका लागि प्रदेशसभामा आवाज उठाउने, महिला नेतृत्व मञ्च, युवा महिला सञ्जालहरूको स्थानीय र प्रादेशिक सरकारसँग पहुँच बढाउनका लागि सञ्जाल बनाउने, लैंगिक उत्तरदायी बजेटको प्रभावकारी कार्यान्वयनका लागि पहल कदमी गर्ने र अन्तर पार्टी महिला सञ्जालको प्रदेशस्तरीय सञ्जाललाई क्रियाशील बनाई सुदूरपश्चिम प्रदेशभरी विस्तारमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइएको हो।

b4b6e501-4c4c-4b17-8e3f-6ba7ebde3743-1700971984.jpg

कार्यक्रममा छलफलको सहजीकरण गर्दै अधिवक्ता रेणु श्रेष्ठ प्रधानले महिला नेतृत्वको राजनीतिमा के कस्ता प्रवधान र चुनौती छन् भन्ने विषयमा प्रस्ट पारेकी थिइन्। उनले दुवैका आवश्यकता सम्बोधन गर्ने खालका बजेट छुट्याउनुपर्ने तथा बजेटको सदुपयोग भए नभएको बारेमा महिलाहरूले जानकारी राख्नुपर्ने बताइन्।

उनले २०१५ मा द्वारिकादेवि ठकुरानी मन्त्री भएको गर्भिलो इतिहास भएको सम्झिँदै महिलाहरूको राजनीतिक इतिहासमा महत्वपूर्ण भूमिका रहेको औंल्याइन्। ‘पुरुषलाई नेतृत्वमा ल्याउन पनि महिलाकै भूमिका छ। कानुनी व्यवस्थाले पनि हरेक क्षेत्रमा महिलाहरूको भूमिका अहिले बढ्दै गएको छ,’ उनले भनिन्।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरीले महिला हिंसाका घटना अझै कम हुन नसकेकोप्रति दुःख व्यक्त गरिन्। ‘यस किसिमका थुप्रै कार्यक्रमहरूमा उपस्थित भएँ, अझै भइराखेकी छु,’ उनले भनिन्, ‘यस्ता कार्यक्रममा विशेष गरी महिला हिंसा कसरी घटाउने विषयमा छलफल भइरहेको छ। अझै त्यहीँ विषयमा छलफल हुनु दुःखत कुरा हो। महिला हिंसाका घटना अझै कम हुन सकेका छैनन्।’

चुनावका बेला महिलाहरूले आर्थिक रूपमा खर्च गर्न सक्दैनन, रक्सी खुवाउन सक्दैनन अनि कसरी चुनाव जित्छन् त? भन्दै उनले प्रश्न गरिन्। उनले भनिन्, ‘समानुपातिक प्रणाली नभएको भए महिलाहरू जहाँ थिए आज त्यहीँ हुने थियौँ त्यहाँसम्म पनि एउटा महिला पनि आउन सकिँदैन थियो।’

3b57253c-f2b0-4491-8da0-1b7c71614802-1700972025.jpg

सुदूरपश्चिम प्रदेशसभाकी सदस्य सरस्वती खड्कले स्थानीय सरकारको भूमिकाबारे महिलाले बुझ्न जरुरी रहेको बताइन्। ‘हामीले उठाएका आवाजको सुनुवाइ कति भयो त्यो बुझ्यौँ,’ उनले भनिन्, ‘महिला स्वरोजगार बजेटमा प्रथमिकता छ÷छैन। सुदूरपश्चिममा सबैभन्दा ठूलो समस्या मदिरा हो, मदिराले गर्दा यहाँका हजारौँ महिला घरेलु हिंसामा परेका छन्।’

प्रदेशसभा सदस्य खड्कले महिलाहरूले आफ्नो क्षमता योग्यता बढाउनुपर्नेमा जोड दिइन्। उनले महिलाहरूले मुख्यमन्त्रीसम्म भएको देख्न चाहेको बताइन्।

प्रदेशसभा सदस्य जानकी कुँवरले पनि सबै कुराको अध्ययन गरेर महिलाहरूले राजनीतिमा होमिनुपर्ने बताइन्। ‘हिजो राजनीतिमा महिलाको पहुँच तपाईं हामीलाई थाहा नै छ तर अब आजको महिला नेतृत्वमा जानका लागि सबै कुराको अध्ययन गरेर महिलाहरू अघि बढ्नु जरुरी छ,’ उनले भनिन्, ‘हामीले अधिकार पाउन आफू मजबुत भएर अगाडि बढ्न आवश्यक छ।’ महिलाको राजनितिकमा समान पहुँच बनाउनु पर्नेमा जोड दिनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।

महिलाले महिलालाई सहयोग गर्न जरुरी रहेको उनले बताइन्। आफूहरू सरकारसँग महिलालाई सजक बनाउन छलफलमा अघि बढेको उनको भनाइ थियो। प्रदेशसभामा महिलालाई प्रत्यक्ष निर्वाचनबाट ल्याउन आफूहरु लडिरहेको उनले बताइन्। उनले वडास्तरबाट महिलालाई समस्या ल्याएर छलफल गर्न आग्रह गरिन्।

कार्यक्रममा प्रदेशसभा सदस्य मधु भारतीले प्रदेशका माननीयहरू नै अन्यौलमा रहेका बेला स्थानीय सरकार कसरी अगाडि बढ्छ ? यसबारेमा अध्ययन र अभ्यास गर्न जरुरी रहेको औंल्याइन्।

रुडुक कैलालीकी अध्यक्ष ममता शाहले महिलालाई राजनीतिमा सहभागी गराउन सामाजिक र राजनीतिक अवरोधहरू रहेको बताइन्। उनले महिलालाई तालिमको व्यवस्ता गराउन जरुरी रहेकोमा जोड दिइन् । ‘साधन स्रोतको कमि छ, महिलालाई जातीय र भेगीय हिसाबले पनि पछाडि पारिएको छ,’ उनले भनिन्, ‘हामी महिला दिदिबहिनीहरूमा समेत एकरुपता हुनुपर्छ। महिलामा आत्मविश्वासको कमि रहेको र पितृसतात्मक समाजले गर्दा नेतृत्वमा महिला पुग्न नसकेका हुन्।’ सहभागिहरुले ३ बुँदे धनगढी घोषणा पत्र जारी गरेका छन् ।  रुडुक डडेल्धुराले महिलाको क्षेत्रमा दुई दशक अघि देखि काम गर्दै आईरहेको छ । WhatsApp-Image-2023-11-25-at-8.16.43-PM-1700972163.jpeg

कार्यक्रममा उपसभामुख, प्रदेशसभा सदस्यसँगै सुदूरपश्चिम प्रदेशका नौंवटै जिल्लाका महिला वडा सदस्यदेखि उपप्रमुख/उपाध्यक्षहरू, महिला अधिकर्मी, पत्रकारलगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउँदले गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update