Paschim Express
डडेल्धुरा अनि बझाङका स्वाभिमान ‘चिराल’

डडेल्धुरा । डडेल्धुरा जिल्ला सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको केन्द्रका रूपमा छ । पहाडका सात पहाडी जिल्ला पुग्न डडेल्धुरा नै भएर जानुपर्ने हुन्छ । पुरानो घना बस्ती भएको सुन्दर ठाउँ हो डडेल्धुरा । मध्यकालिन अवस्थामा डोटी राज्य विभिन्न गर्खामा बिभक्त थियो । पश्य, गड, भुतिउ, रुपाल, लुलान, छगर्खाले चिनिने डडेल्धुराको केन्द्र गैरी डोटी हो । डोटी भनेर छुट्टै जिल्ला नभई गैरी डोटीलाई बुझिन्थ्यो । तत्कालिन डोटेली राजाको शीतकालिन दरबार दीपायल भएकाले तथा एकै संस्कृति, सभ्यता भएका कारण डोटी, डडेल्धुरा एकै नाम भएको  पाइन्छ । कालान्तरमा डोटी छुट्टै र डडेल्धुरा छुट्टै जिल्ला भए पनि डडेल्धुरा इतरकाले डोटी, डोट्याल भनी चिन्ने डडेल्धुरालाई हुन् ।

सुदूरका बस्तीको व्यापारीक केन्द्र पनि हो डडेल्धुरा । कर्णाली, सेती, महाकाली क्षेत्रका बस्तीको मुल बाटो पनि हो । त्यसैमा पुरानो पहाडबाट तराई आउन–जाने बाटोको विश्रामस्थल बागखोड भनेर जानिने बागबजार अहिले सडक बिस्तारको क्रममा फराकिलो, उज्यालो र सुन्दर देखिदैछ । गैरी डोटी काटी खान, बस्ने आश्रयस्थल मानिने पसल, धर्मशाला, रानीधारा र जोगेनी थान रहेको बागखोड कालान्तरमा बागबजार बन्न गयो । 

सेती, महाकाली, कर्णाली भेक तिरका तराई झर्ने मुल बाटोको मुख्य केन्द्र हो डडेल्धुरा । नुन, लत्ताकपडा, जिविकोपार्जन सामग्री ल्याउन तराइ जाने, हिउँदमा तराईमै बस्ने गरि परिवार बस्तु भाउँसहित मौवाल जाने गर्थे । 

नुन, गुड, लत्ताकपडाका लागि पुग्नु पर्ने भारतिय मण्डी टनकपुर र नेपाली मण्डी ब्रह्मदेव थियो । कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पाका नागरिकसहित यहि बाटो तराई झर्ने र फर्कन्थे । बरकोट्या, जुम्ली, बझाङी यसै बाटो आवतजावत गर्थे । बाटोमा बिरामी परि हिड्न नसकेका बाटोमा छुटेका यतै तिर कामकाज गर्ने र घरजम गरि बस्नेसमेत गरेको पाइन्छ । बाटोमा आश र बासका लागि मित्तेरी गास्ने गरेको समेत देखिन्छ । कैंयौ बाटोमा धर्मशालाभित्र बिरामी परि ज्यान गुमाएका हुन्थे । हिउँमा चिसोले कठ्याङ्ग्रीएर पनि ज्यान गुमाउँथे । सौकाहरु भेडासहित आउँथे । नुनको कारोबार गर्न र भेडा चराउन पनि आउने गरेका थिए । 

डडेल्धुरा पहाडी जिल्लाको सबै किसिमले केन्द्र नै हो । सात पहाडी जिल्लाको सडक सञ्जालको मख्य केन्द्र पनि डडेल्धुरा नै हो । डडेल्धुरा  व्यापारिक रुपमा पनि महत्व राख्छ नै । पुरानो बस्तीको केन्द्र रहेको डडेल्धुरा बजार क्षेत्रमा बिभिन्न ठाउँका नागरिक बसोबास गर्दछन् । पहिलेदेखि पसल राखी बसेकाभन्दा नयाँ व्यापारीले भरी भराउँछ । डडेल्धुरा जिल्लाकै पनि अन्य पालिकाका नागरिक व्यापारिक रुपमा सदरमुकाममा स्थापित छन् । नेपाल एकीकरणका बेलाका सेनाका अशक्त, बुढा, बिरामी रहेका सैनिक र सेनासंग जोडिएका नागरिक स्थायी बासिन्दा जस्तै बसोबास गर्न पुगे । 

सडक निर्माणका क्रममा ठेकदारसंगै आएका श्रमिकहरु पनि कालान्तरमा स्थायी बसोबास गर्न पुगे । डडेल्धुरामा बजार बन्नअघि गडी गौडाका रूपमा रहेको खलंगामा चहलपहल थियो । पोखरा बजार पनि चलनचल्तीमा थियो । आइतमा पसल थिए, निकै कारोबार हुन्थ्यो । आइत बजारको पसलमा काम गर्न बझाङ चीर बुङलका तीन, चार जना कामदार थिए । सडक यातायात सुरु भएपछि बागखोड बागबजारको चहलपहलसंगै भरिया (चिराल)को संख्या बागबजारमा बढ्यो । बजार क्षेत्रमा सँधै जसो काम पाइन्थ्यो । गाडी लोड–अनलोड, बजारबाट घरमा, डेरामा सामान ओसार्ने काममा ती भरियाको भुमिका रह्यो । पहाडबाट तराई जाने संस्कृति भत्काएर पहाडका श्रमिक पहाडमै काम गर्ने क्रम सुरु भयो । 

हातमा दाम्लो भएका व्यक्तिलाई सामान ओसार्न सहज रूपमा भन्न मिल्छ । भारतका पहाडी सहर पिथौरागढ, नैनिताल, देहारादुन लगायतमा पनि चीर बुङल तिरका नागरिक काम गर्ने गर्दछन् । निकै ठूलो भारी उठाउन सक्ने भरियाहरु तीस, पैतिस जनाको संख्यामा डडेल्धुरामा झण्डै ५० वर्षदेखि निरन्तर सेवा दिइरहेका छन् । कहिलेकाँहि मात्र घरमा जाने उनीहरुका तीन पुस्ताका मान्छेसंगै काम गरिरहेका छन् । बाजे, छोरा नातिसहित बाजेको अभिभाकत्वमा पुर्ख्यौली काम सम्हाली रहेका छन् । बजारको हरेक मान्छेले सरल रूपमा चिराल भनेर बोलाउँछन् र सामग्री ओसारपसार गर्ने गर्दछन् । दाम्लो, डोरी, लम्यालो हातमा समातेर घाम तापिरहेका व्यक्ति देख्दा सरल रूपमा चिराल भन्दा फरक नै पर्दैन । हिउँदमा हिउँ परेको अवस्था होस वा बर्खाको झरी होस् आफ्नो काममा तल्लिन छन् । अर्काको भारीसंगै जीवनको भारी उठाउँछन् ।

परिवार व्यवस्थापन गर्न, दिनचर्या चलाउन हरेकले केही न केही इलम गरेकै हुन्छ । स्वाभिमानको कमाई, पौरख गरेको कमाई खान्छन् र घर परिवारको व्यवस्थापन गर्दछन् । आर्थिक रूपमा पनि सबल छन् । खर्च व्यवस्था गरेर हरेक वर्ष एक दुई तोला सुन जोड्ने, तेस्रो वर्ष जिउलो (खेत) किन्ने गरेका छन् । छोरा, नातीको विवाह र कसैको घर निर्माणका क्रममा सामूहिक लगानी गर्दै आएका छन् । वर्षौंदेखि काम गर्दाका समयका इमानदार साहुलाई व्याजमा आफ्नो कमाईलाई परिचालन गरेका हुन्छन् । 

उनीहरु भारतका अन्य सहर काम गर्न जानेभन्दा डडेल्धुरा रोज्छन् । गर्न खोजे जहाँ पनि अवसर हुन्छ भन्ने प्रमाणित उनीहरुले गरिदिएका छन् । सोही कार्य हाम्रा युवा विदेशमा गएर गर्न तयार छन्, तर यहाँ गर्दैनन् । तर यसै क्षेत्रमा उद्यम गर्ने जागर र सीप सिकाउँछन् चिरालले । स्वरोजगार र स्वाभिमानको सफल पाठ सिकाएका छन् उनीहरुले ।

भारतका सहरमा गोर्खा, बहादुर भनिएर अपमानजनक व्यवहार भोग्नुभन्दा आफ्नै माटोमा पसिना बगाएर नवसृजना गर्नु आवश्यक छ । धेरै नागरिक कामको शिलशिलामा नारकिय जीवन व्यतित गरिरहेका छन् । लाखौंको संख्यामा भारतमा रोजगारीका लागि श्रम बेचिरहेका छन् भने हजारौं अन्य देशमा । श्रम जहाँ गरे पनि हुन्छ तर श्रमको सम्मान हुनुपर्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update