Paschim Express
प्रसिद्ध ‘देहीजाँत’ आज

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने ‘देहीजाँत’ सुरु भएको छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा हिजो रतेडी र आज दिउसेडी मेला सुरु भएको हो । 

२५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ । 

खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने गरेको छ । उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरु पूजा आराधना गर्न पुग्ने गर्दछन् ।

यस्तै मेलाको अवसरमा अमरगढी नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै १२ गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ । 

ज्ञानकी ज्योती तारादेविको अर्को रुपमा नै उग्रतारालाई चिनिन्छ । मेला व्यापार व्यवसाय एवम् आफन्तजन संगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात रहेको छ । यस्तै सुदूरपश्चिमको लोकप्रिय खाना ‘माँडा’ देहिजाँतमा प्रशस्त देख्न सकिन्छ ।

वर्षमा एकपटक लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ती, मनोकामना पूरा हुने जन विश्वास रही आएको छ । देहिजातको रुपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, मध्यपश्चिम तथा छिमेकी देश भारतबाट समेत हजारौको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गर्दछन । 


 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update