Paschim Express
महिलाले महिलालाई सहयोग नगर्दा पछाडि पर्‍यौँ : आरजु राणा

काठमाडौं :  नेपाली कांग्रेसका नेता डा. आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताएका छन्।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा महिला नेतृत्वको अर्थपूर्ण सहभागिता’ विषयक गोष्ठीमा नेत्री राणाले कांग्रेस पदाधिकारीमा महिलाको सङ्ख्या न्यून रहेकाले यस विषयमा आगामी महासमिति बैठकमा कुरा उठाइने बताए ।
‘पार्टीको पदाधिकारीदेखि विभिन्न विभागमा कम्तीमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने हाम्रो विगतदेखिकै माग हो र यसबारे हामीले समय–समयमा आवाज पनि उठाउँदै आएका छौँ’, उनले भने।

कांग्रेसका सांसद डा। राणाले महिलाका लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्ने भन्दै यसका लागि सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए । राजनीतिक क्षेत्रमा रहेका महिलाबीच पनि एकापसमा सहकार्य र समन्वय हुनु जरुरी रहेको भन्दै उनले एक महिलाले अर्को महिलालाई सहयोग नगरेका कारण कतिपय महिला पछाडि परेको आफ्नो अनुभव रहेको सुनाए।

उनले महिलाले आफ्ना अधिकारका विषयमा कुरा उठाउन छाड्नु नहुने बताउँदै अधिकारका लागि निरन्तर आवाज उठाएमात्रै परिवर्तन आउने उल्लेख गरे । राणाले मुलुक सङ्घीय शासन प्रणालीमा गएसँगै देशमा ठूलो परिवर्तन आएको पनि बताए । सङ्घीय लोकतान्त्रिक प्रणालीमा नै महिलाका हक र अधिकारको सुनुवाइ हुने भन्दै यसको संरक्षणमा महिला नै लाग्नुपर्नेमा उनको जोड छ।

उनले अर्को एक प्रसङ्गमा महिलालाई आपत् पर्दा जाने ठाउँ निकै थोरै भएको पनि बताए। उनले भने, ‘महिला आयोगमा सबै महिलाको पहुँच पुग्दैन र जान पनि सक्दैनन् तर उनीहरु आपत् पर्दा कहाँ जाने रु यस विषयमा हामी सबै पार्टीका महिला नेत्रीहरूले पनि समन्वय र सहयोग गर्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update