Paschim Express
डडेल्धुराका ओमप्रकाशको संघर्ष, जो स्वयंसेवीबाट अन्तर्राष्ट्रिय प्रशिक्षक बने

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–६ मा एउटा सुन्दर गाउँ छ । उचाईमा रहेको डाँडामा लहरै बनेका पुरानो शैलीका घरले उक्त गाउँ रेलको डब्बा जस्तै देखिन्छ । गाउँको नाम हो, कानाकोट । सोही गाउँमा २०४५ साल माघ ८ गते जन्म भयो ओमप्रकाश पन्तको । उनी बाल्यकालदेखि नै खेलमा निकै रुची राख्थे ।

देवल माविमा एसएलसी उत्तिर्ण गर्नुअघि उनले विद्यालयमा आयोजना हुने थुप्रै खेलकुदका प्रतियोगितामा सहभागिता पनि जनाए । तर, त्यो समयसम्म कुन खेललाई बढी प्राथमिकतामा राख्ने भन्न्ने छुट्याउन भने सकेका थिएनन् पन्तले । 

०६२ सालमा एसएलसी उत्तिर्ण गरेपछि पन्त उच्च शिक्षाका लागि डडेल्धुरा सदरमुकाम आए । सोही समयमा पन्तको नजर जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षक विरेन्द्रबहादुर चन्दले कराते सिकाइरहेका दृश्यमा प¥यो । अनी पन्तले पनि कराते सिक्ने सोच बनाए । चन्दकै प्रशिक्षणमा पन्त मार्सल आर्ट अन्तर्गतको कराते खेलको थर्ड डाँन ब्ल्याकबेल्ट भए । पन्त सिक्दै गर्दा उनको करातेप्रतिको लगनले धेरैलाई अचम्मित बनाउथ्यो । 

२०६३ सालमा धनगढीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भयो । प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने खेलाडी थिए पन्त पनि । त्यसको दुई वर्षपछि पाचौँ राष्ट्रिय खेलकुदको तयारी भइरहेको थियो । सुरुवातमा सुदूरपश्चिममै गर्ने भनिए पनि भौतिक संरचना पूर्ण रूपले निर्माण भइनसकेको हुदाँ अन्ततः पाँचौ राष्ट्रिय खेलकुद काठमाडौँमा सञ्चालन भयो । 

उक्त प्रतियोगिताअन्तर्गत कराते खेलमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने मौका पाए पन्तले पनि । उनी भन्छन्, ‘पाचौँ राष्ट्रिय खेलकुदमा सहभागिता त जनाउन पाए तर सोचेअनुसार नतिजा भने आउन सकेन ।’ 

त्यसको तीन वर्षपछि २०६८ फागुन १४ गतेदेखि सुदूरपश्चिममै सुरु भयो छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता । घरेलु मैदानमा भएको प्रतियोगितामा खेलाडीका रुपमा एकपटक फेरि सहभागिता जनाउने मौका पाए पन्तले । तर छैटौँ राष्ट्रिय खेलकुदमा पनि सोचेअनुसारको प्रदर्शन भने गर्न नसकेको अनुभव सुनाउँछन् पन्त । ‘त्यसपछि खेल्न छोडेर प्रशिक्षणतर्फ लाग्ने योजना बनाए,’ पन्त भन्छन्, ‘छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको केही समयमै भोलिन्टर (स्वयंसेवी)का रुपमा प्रशिक्षण सुरु गरे ।’ 

उनले प्रशिक्षण सुरु गरेको झण्डै ८ वर्षपछि २०७६ सालामा अजयमेरु गाउँपालिकाकाले पन्तलाई खेलकुद प्रशिक्षकका रुपमा नियुक्त ग¥यो । ‘अजयमेरुको मुख्य प्रशिक्षक भएपछि विभिन्न विद्यालयमा गएर विद्यार्थीलाई प्रशिक्षण दिन सुरु गरेको थिए,’ उनी भन्छन्, ‘एसियन कराते फेडेरेशनले गर्ने अन्तर्राष्ट्रिय प्रशिक्षणको छनोटमा पनि परेको थिए । प्रशिक्षण पाएपछि फेडेरेशनले लिएको प्रशिक्षकको परीक्षा पास गर्दै अन्तर्राष्ट्रिय प्रशिक्षक बनेको छु ।’ 

योसंगै अन्तर्राष्ट्रिय स्तरका खेलको प्रशिक्षक हुन पाउने भएका छन् पन्त । पन्तको यो सफलताबाट सिंगो अजयमेरु गाउँपालिका मात्रै नभएर डडेल्धुरा जिल्ला नै दंग छ । अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकाकै सान बढाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेको छन् ।

No description available.

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update