Paschim Express
सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमास्तम्भ मर्मत थालियो

डडेल्धुरा । सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यसपटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ । 

सशस्त्र प्रहरी बल नम्बर ७ वैजनाथ मुख्यालय अत्तरीयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट दिउँसोबाट मर्मत सम्भारको काम सुरु भएको जानकारी दिए । कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नम्बर ३५ गण मुख्यालय र कैलालीमा नम्बर ३४ गणले सो कार्य सुरु गरेका हुन् । 

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ डोकेबजारस्थित ७५३(१७१) नम्बर सीमा पिलरदेखि मर्मत कार्य सुरु गरेको छ । भारतीय प्रशासन, सीमा सुरक्षा बल(एसएसबी)सहितका अधिकारीको उपस्थितिमा सीमास्तम्भको मर्मत कार्य सुरु गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सीमापिलर मर्मत कार्यबाट दुबै देशका सीमास्तम्भलाई स्पष्ट पारिदिने भएकाले विवाद उत्पन्न नहुने बताए । सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले नेपालको भागमा परेका बिजोडा सीमापिलर निरन्तर मर्मत सम्भार गरिने बताए ।

एसपी रावलले कञ्चनपुरमा कुल ६६ सीमास्तम्भ पुनर्निर्माण, मर्मतसम्भार गरिने बताए । उनका अनुसार रंगरोगन गर्नुपर्ने ३०, सामान्य मर्मत १६, मध्यमस्तरको मर्मत १७ र पूर्ण मर्मत ३ पिलर रहेका छन् । भारतीय पक्षले यसअघि नै जोडा सीमापिलर मर्मत गरिसकेको थियो । 

No description available.

विसं २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मत÷सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको एसपी रावलले बताए । पछिल्लो केही वर्षयता सुदूरपश्चिम प्रदेशका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update