Paschim Express
सुदूर पहाडमा छैनन् खेल मैदान, प्रतियोगिता गर्न मुस्किल

डडेल्धुरा । सुदूरपश्चिम क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले गतवर्ष डडेल्धुरामा क्रिकेटको प्रादेशिक प्रतियोगिता आयोजना गर्ने तयारी गरे । तर डडेल्धुरा जिल्लामा मैदान पाएनन् । अन्त्यमा आएर सदरमुकाम नजिकैको खोला किनार (रामलिला मैदान)मा प्रतियोगिता आयोजना गरे । यसवर्ष पनि सोही प्रतियोगिता गर्ने तयारीमा जुटेका छन् जोशी । तर उनलाई मैदान अभावकै समस्याले चिन्तित बनाएको छ । 

डडेल्धुरा सदरमुकाम नजिक रहेको रामलिला मैदान

‘प्रत्येक जिल्लामा एउटाएउटा पनि खेल मैदान भएको भए समस्या हुने थिएन,’ जोशीले भने, ‘नदी किनारमा प्रतियोगिता गर्दा गतवर्ष बेलाबेला बल नदीमा गइरहेको थियो । बल हराइरहेको थियो । जेनतेन प्रतियोगिता गर्नुपर्ने बाध्यता छ ।’ क्रिकेट प्रतियोगिता आयोजना गर्न आवश्यक मापदण्डअनुसार मैदानको क्षेत्रफल पनि नभएको जोशीले बताए । 

सुदूरपश्चिमका पहाडी जिल्लामा खेल मैदान अभावले प्रादेशिक स्तरका प्रतियोगिताहरु आयोजना गर्न कठिनाई हुने गरेको छ । क्रिकेट प्रतियोगिता गर्न सुदूरपश्चिमका डडेल्धुरा, डोटी, बझाङ र दार्चुलामा खेल मैदान नै छैन । डडेल्धुरामा त अधिकांश खेलहरु खेला किनार र विद्यालयका खेल मैदानमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । 

डडेल्धुरामा धमाधम हुँदैछन् खेलकुद प्रतियोगिता, खेल पूर्वाधारको छ चरम अभाव

उग्रतारा मावि पोखरामा भलिबल हुँदै

स्थानीय तहले सडक, पुलपुलेसा र खानेपानी जस्ता योजनाहरुमा ठुलो रकम खर्च गरे पनि राष्ट्र चिनाउने खेल गतिविधिकमा न्यून लगानी गर्ने गरेका छन् । खेलकुद सञ्चालनको जिम्मेवारी पाएको खेलकुद विकास समिति पनि खेल मैदानका विषयमा गम्भीर छैन । डडेल्धुरामा नेपाली सेनाको नाममा रहेको टुँडिखेलमा भलिबल, क्रिकेट, फुटबल लगायत खेलहरु जेनतेन सञ्चालन हुने गरेका छन् ।

टुँडिखेल

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीले मैदान नभए पनि जेनतेन प्रतियोगिता सञ्चालन गरिरहेको बताए ।  ‘प्रतियोगिता आयोजना गर्न पूर्वाधार व्यवस्थापन भएको छैन । खेलाडी उत्पादनमा समस्या छ,’ उनले भने । भण्डारीका अनुसार जिल्लामा अहिले कवर्डहल र रंगशाला दुबै छैन । ‘जिल्ला सदरमुकामको टुडिखेलमा ४ कोठे कार्यालय भवन र सेमी कवर्डहल निर्माण भइरहेको छ,’ उनले भने, ‘क्रिकेट मैदान र भलिबलको कोर्ट निर्माणका लागि भने बजेट नै छैन ।’

जिल्ला सदरमुकामको टुडिखेलमा निर्माण भइरहेको खेलकुदको भवन

खेल मैदानको अभावकै कारण खेलप्रति उत्साह भएका खेलाडीहरु पनि निरास भएका छन् । खेल प्रतियोगिता संचालन गर्न समस्या भइरहेका बेला स्थानीय तहहरुले बनाउन सुरु गरेका दर्जनौं खेल मैदानहरु अझै पूर्ण हुन सकेका छैनन् । 

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द खेल क्षेत्रमा सरकारको लगानी बढ्नपर्नेमा जोड दिन्छन् । ‘सबै जिल्लामा प्रादेशिक क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने खेल मैदान आवश्यक छ,’ चन्दले भने, ‘त्यसका लागि प्रदेश र संघीय सरकारसंग हामीले आग्रह पनि गरिरहेका छौं ।’
 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update