Paschim Express
'हेडसर'को लगनशीलताले कायापलट भएको महेन्द्र मावि

डडेल्धुरा । किताब कपि हातमै समातेर विद्यार्थी विद्यालय छिर्छन् । केहीले विद्यालय पोशाक पनि लगाएका छैनन् । विद्यार्थीहरु विद्यालयको प्राथना लाइन लाग्न छोडेर शौचालयमा जम्मा भएका छन् । कतिपय ढिलो गरी विद्यालय पुग्छन् । 
विद्यालय आएका कतिपय बिदा नभइकनै घर जान्छन् । कतिपय विद्यालय नै आएका छैनन् । विद्यालयमा नियमित पठनपाठन हुँदैन । जसका कारण आर्थिक स्थिती बलियो हुने अभिभावकले आफ्ना बालबच्चालाई निजी विद्यालयमा भर्ना गरेका छन् । त्यहाँ केवल विपन्नका बालबालिका मात्रै भर्ना भएका छन् । विद्यालयमा नियमित पठनपाठन नभएका कारण शैक्षिक नतिजा खस्कदो छ । ‘महेन्द्र उच्च मावि’ मा पढ्ने विद्यार्थी भनेपछि समाजले हेपाहा व्यवहार देखाइरहेको छ । 

यो दृश्य २ दशक अघिसम्म डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालयमा देख्न पाइन्थ्यो । तर, समय फेरिएको छ । अचेल महेन्द्र माविको परिवेश फेरिएको छ । विद्यालयप्रति हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । सदरमुकामकै खलंगामा रहेको विद्यालयका विद्यार्थी अहिले जिल्ला ‘टप’ गरिरहेका छन् । सफा पोशाक लगाएका विद्यार्थी दैनिक विद्यालय जान्छन् । विद्यालयमा नियमित पठनपाठन हुन्छ । टाढाका विद्यार्थीलाई ल्याउन–लैजान स्कुल बस छन् ।

विद्यार्थीलाई खेल्न प्रयाप्त स्रोतसाधन छन् । अध्ययनका लागि पहेला रंगका ठुला–ठुला भौतिक संरचना छन् । गुणस्तरिय शिक्षा प्रदान गर्न तालिमप्राप्त शिक्षक तथा प्रशिक्षक छन् । खाजा समयमा तितरबितर हुने विद्यार्थीका लागि विद्यालयमै क्यान्टिन खोलिएको छ । प्रयोगात्मक कक्षका लागि पर्याप्त ल्याबको व्यवस्था छ । विद्यालयको प्राङगणमा आफ्ना प्रयोगात्मक सिपको अभ्यास गरिरहेको दुश्य अहिले देखिन्छ । अतिरिक्त क्रियाकलापको कुरा गर्दा विद्यालयले हरेक खेलकुदका कार्यक्रममा सहभागीता जनाएर राम्रो नतिजा ल्याउने गरेको छ ।

No description available.

वार्षिक रुपमा शैक्षिक भ्रमणमा जाने विद्यार्थीहरु विभिन्न स्थानबाट नयाँ ज्ञान र शिप सिकेर आउँछन् । यो परिवर्तन कुनै जादुको छडी घुमाएर आएको होइन । यस्तो आकास पातालको फरक आउनुमा विद्यालयका कर्मचारी, विशेषगरी प्रधानाध्यापक सुरेन्द्र ऐरको अहम् भूमिका छ । सोही कारणले उनलाई ‘राष्ट्रिय शिक्षा दिवस २०८०’ को राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । 

सामुदायिक विद्यालय भएपनि महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुबै माध्यममा पठन पाठन भइरहेको छ । सोही कारणले जिल्लामा निजी विद्यालय(बोर्डिङ)को क्रेज कम भएको छ । त्यसैले त महेन्द्र माविमा जिल्लाबाहेक अन्य पहाडी जिल्लाबाट समेत विद्यार्थी भर्ना हुन आउने गरेका छन् । भर्ना हुने विद्यार्थीको अत्यधिक चाप हुने तथा उत्कृष्ट नतिजा ल्याउन विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ ।  मतलब महेन्द्र माविमा पढ्न पाउनका लागि विद्यार्थीले प्रवेश परीक्षा पास गर्नुपर्ने हुन्छ । 

No description available.

महेन्द्र माविको यात्रा 
८ दशकअघि मुलुकमा राणा शासनको जगजगी थियो । जनता राणाहरुको निरकुंश शासनका बिरुद्ध जुर्मराउँदै थिए । स्वतः स्फूर्त ढंगले जिल्ला–जिल्लामा बिरोधका आवाजहरु उठ्न थालेका थिए । त्योसंगै जिल्लाका सदरमुकामहरुमा विद्यालय खुल्ने क्रम सुरु भयो । त्यही क्रममा डडेल्धुरामा २००४ सालमा आधार पाठशाला खुल्यो । जिल्लाकै पहिलो पाठशाला खोल्ने व्यक्ति थिए, चुडामणी पन्त ।

त्यसको १० वर्षपछि २०१४ सालमा डडेल्धुरामा राजा महेन्द्रको सवारी भयो । जिल्लावासीका तर्फबाट राजाको अभिनन्दन गरियो । जसको नेतृत्व एनडी प्रकाश चटौतले गरेका थिए । अभिनन्दन समारोहमा पन्तले डडेल्धुरामा माध्यामिक विद्यालयको आवश्यकता रहेको जिकिर गरे । पन्तको आग्रहमा राजा महेन्द्रले माध्यामिक विद्यालयको स्वीकृति दिए । र त्यही आधार पाठशाला ०१४ साल जेठ १९ गते महेन्द्र मिडिल स्कुलको रुपमा रुपान्तरण भएको थियो । त्यसपछि २०१८ साल जेठ १९ गते तत्कालिन श्री ५ को सरकारका शिक्षामन्त्री विश्ववन्धु थापाले विद्यालयको निरीक्षण गरे पश्चात २०१८ सालमा सर्वप्रथम एसएलसी वोर्ड परीक्षामा विद्यार्थीहरुलाई समावेश गराइएको थियो । 

महेन्द्र माविमा २०५१ साल मंसिर २० गतेदेखि उच्च माध्यमिक तहमा कक्षा ११ र १२ को पठनपाठन सञ्चालन भएको थियो । यस्तै शैक्षिक सत्र २०७० देखि कक्षा ९–१० सम्म प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठनपाठन सञ्चालन गरी २०७२ सालदेखि प्राविधिक धारतर्फ कक्षा ११ –१२ को समेत पठनपाठन विद्यालयमा हुँदै आएको छ । 

विद्यालयसँग के–के छ ?
हाल महेन्द्र माविको नाममा ३० रोपनी जग्गा छ । ५ वटा ब्लकमा जम्मा २६ वटा कोठाहरु तथा जस्तापाताबाट बनाइएका दुई ओटा कोठाहरु गरि जम्मा २८ वटा कोठाहरु रहेका छन् । यसमध्ये सडक छेउमा रहेका दुई ओटा कोठाहरुलाई आय आर्जनका लागि प्रयोग गरिएको छ । सुदूरपश्चिमाको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा चार कोठे एउटा भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

विद्यार्थीहरुको आवासका लागि २ ओटा छात्राबास भवनमा जम्मा २८ वटा कोठाहरु रहेका छन् । जसमा ५२ जनासम्म बस्न सक्ने क्षमता रहेकोे छ । ती कक्षाकोठालाई प्रविधिमैत्री बनाउन प्रोजेक्टर जडान गरिएका छन् । 

हाल विद्यालयले २२ वटा कक्षाकोठाबाट पठनपाठन गराइरहेको छ । यस्तै विद्यालयमा २ वटा विज्ञान प्रयोगशाला र ४८ थान कम्प्युटर भएको एउटा कम्प्युटर प्रयोगशाला रहेको छ । यस्तै एउटा कोठालाई प्राथमिक उपचार सेवा कक्ष बनाएर विद्यालय नर्सले त्यहाँबाट सेवा दिइरहेकी छिन् । यस्तै टाढाका विद्यार्थीका लागि २ वटा स्कुल बस छन् । 

प्रधानाध्यापक सुरेन्द्र ऐरका अनुसार यो शैक्षिक वर्षमा कक्षा ६ देखि १० सम्म विद्यार्थीहरुको ई–हाजिरी गर्ने तथा अटोेमेटिक एसएमएस सिस्टम जडान गर्ने योजना रहेको छ । हाल विद्यालयमा ३६ वटा सीसीटिभी क्यामेरा जडान गरिएका छन् । विद्यालयमा छात्राहरुका लागि छुट्टै दुई वटा चेन्जिङ रुम र सेनेटरी प्याड भेन्डिङ मेसिन रहेको छ । 

विद्यालयमा अध्ययनरत असहाय, टुहुरा, आर्थिक रुपमा विपन्न विद्यार्थीहरुको शैक्षिक गतिविधिहरुमा सहयोग पुर्याउन र समाजका कमजोर आर्थिक अवस्था भएका बिरामीको औषधी उपचार तथा विपद् प्रतिकार्य अन्तरगत आवश्यक सेवा पुर्याउने उद्देश्यले विद्यालयमासमाजिक कल्याण कोष स्थापना भएको छ ।  उक्त कोषमा विद्यालयमा कार्यरत प्रत्येक शिक्षक तथा कर्मचारीले मासिक रुपमा १०० रुपैयाँ जम्मा गर्छन् । विद्यालयमा विभिन्न समयमा विज्ञलाई ल्याएर प्रशिक्षण दिइने तथा विभिन्न समयमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिने प्रधानाध्यापक सुरेन्द्र ऐरले जानकारी दिए । 
यो शैक्षिक वर्षमा विद्यालयमा १ हजार ४१६ विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा ४५ जना शिक्षक र ९ जना कर्मचारी रहेका छन् । 

समस्याहरु
हाल सुधारोन्मुखतर्फ बढीरहेका महेन्द्र माविमा केही समस्याहरु पनि रहेका छन् । विद्यार्थी संख्याको अनुपातमा कक्षाकोठा, प्रयोगशाला र अन्य भौतिक पूर्वाधारको कमी हुनु तथा विषयगत शिक्षकको न्यून संख्याका कारण शैक्षिक उपलब्धी र गुणस्तर सुधारमा चुनौती रहेको प्रधानाध्यापक ऐर बताउँछन् । त्यसका साथै विद्यालयलाई पूर्णरुपमा ‘डिजीटल स्कुल’ मा रुपान्तरण गर्न स्रोतसाधनको कमी रहेको समेत उनले औंल्याएका छन् । उनका अनुसार  विद्यालयको खर्चको अनुपातमा आन्तरिक स्थायी आयस्रोत न्यून हुनु र अभिभावकहरुसँग नियमित सम्पर्क तथा समन्वयमा समस्यासमेत रहेको छ । 

‘महेन्द्र माविलाई शैक्षिक हबकै रुपमा विकास गर्ने हो’
महेन्द्र मावि सुधार हुनुमा सबैभन्दा बढी योगदान विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरको छ । ऐरसंग पश्चिमएक्सप्रेसले कुराकानी गरेको छ । 
महेन्द्र माविमा विद्यार्थीको आकर्षण बढ्नु र अभिभावकले विश्वास गर्नुको कारण चाँहि के हो ? 
पछिल्लो समयमा विद्यार्थी र अभिभावकको निजी विद्यालयतर्फ बढी ध्यान छ । त्यसको कारणबारे अध्ययन गर्दै जाँदा पढाईको स्तर र अङग्रेजी माध्यमबाट हुने पढाई मुख्य देखियो । अर्को कारण अनुशासन पनि रहेछ । यो सबै हामीले पनि गर्न सक्छौं भन्ने लाग्यो । र, चार वर्ष अगाडिदेखि हामीले पनि अङग्रेजी माध्यमबाट अध्यापन सुरु ग¥यौं । त्यसपछि निजी विद्यालय छोडेर पनि विद्यार्थी महेन्द्र माविमा आउन थाले । डडेल्धुराबाट मात्रै नभएर बैतडी, बझाङ, डोटी लगायतका जिल्लाबाट पनि विद्यार्थी पढ्न आउन थाले । अभिभावकहरु पनि विश्वास गर्न थालेका छन् । 

अनि शैक्षिक गुणस्तर पनि सुधार भयो त ? 
शैक्षिक गुणस्तर पनि सुधार भएको छ । सामूदायिक विद्यालयतर्फ जिल्लाभर नै उत्कृष्ट नतिजा हाम्रै छ । संस्कारसहितको गुणस्तर शिक्षा प्रदान गरेका छौं । जसले विद्यार्थीलाई पनि अनुशासित बनाएको छ । प्रविधिलाई पनि हामीले जोड दिएका छौं ।

 

कक्षा कोठा व्यवस्थापन गर्दै प्रोजेक्टरमार्फत अध्यापन गराइरहेका छौं । विद्यार्थीको ई–हाजिरी सुरु गरेका छौं । अतिरिक्त क्रियाकलापमा पनि जोड दिएका छौं । विद्यालयको सरकारी समय १० देखि ४ बजे भए पनि हाम्रो विद्यालयमा ९ बजेदेखि ५ बजेसम्म अध्यापन हुन्छ । 

यो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको भिड अत्यधिक भएर भर्ना नै बन्द गर्नुभयो भन्ने थियो नि ? 
हो, यसपटक हामीले प्रवेश परीक्षा नै लिएर भर्ना गरेका थियौं । हाम्रो विद्यालयमा पुगेका सबै विद्यार्थीलाई हामीले भर्ना गर्न सकेनौं । त्यसको मुख्य कारण हामीसंग पर्याप्त कक्षा कोठा थिएनन् । दुई सय बढी विद्यार्थीलाई हामीले यो शैक्षिक सत्रमा भर्ना गर्न नसकेर फर्काउनु परेको थियो । 

विभिन्न देशमा सरकारी विद्यालयमा अध्यापनका लागि ठुलो प्रतिस्पर्धा हुने र भर्ना पाउनै मुस्किल हुन्छ । त्यो अवस्था यहाँ पनि आउनसक्ने सम्भावना छ ? 
एकदमै आउनसक्छ । हामीले थोरै बढी मेहेनत ग¥यौ र इमानदारीका साथ काम ग¥यौं भने सबै सामुदायिक विद्यालय सुधार हुन सक्छन् । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिलाउने सबै अभिभावको चाहना हुन्छ । तर, निजी विद्यालयको चर्को शुल्क धान्न सक्ने अवस्था सबैको हुँदैन । यदि सामुदायिक विद्यालयमै गुणस्तर शिक्षा छ भने उनीहरुलाई निजी विद्यालयमा आफ्ना नानीबाबुलाई पढाउनुपर्ने बाध्यता हुँदैन । त्यसका लागि हामीले अहिलेको भन्दा थोरै बढी मेहेनत गर्न भने आवश्यक छ । सुरुमा महेन्द्र माविमै पनि इङलिस मिडियम सुरु गर्दा सक्ने–नसक्ने अन्योल थियो । तर टिम वर्क राम्रो भयो र अहिले हामी सफल भएका छौं ।

तपाईँ प्रधानाध्यापक हुनुभन्दा पहिले झण्डै ६ सय विद्यार्थी थिए, अहिले डेढ हजारको हाराहारीमा छन् । यो तथ्यांक हेर्दा प्रधानाध्यापकले सुधार गरेको विद्यालय भन्दा हुन्छ ? 
एकजनाले भन्दा पनि त्यो टिम वर्क हो । टिममा सबै सदस्यले निकै मेहेनत गर्नुभएको छ । तर, एउटा लिडरसिपले काम गर्ने वातावरण भने सृजना गर्न सक्छ । त्यो वातावरण मैले बनाएको छु होला । काम गर्ने त टिमले नै हो । मैले मात्र गरेर विद्यालय सुधार भएको होइन । 

अबको योजना के छ ? 
हामीले भौतिक पूर्वाधार विकास गर्न सक्यौं भने महेन्द्र माविलाई शैक्षिक हबकै रुपमा विकास गर्ने हो । अर्कोतर्फ प्रविधिमैत्री विद्यालय बनाएर मोडेलको रुपमा अगाडि बढाउने योजना छ । विद्यार्थीहरुमा संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने त मुख्य उद्येश्य नै भयो । त्योसंगै प्राविधिक धारतर्फ अहिले डिप्लोमा सम्म मात्रै कक्षा सञ्चालन हुन्छ । त्योलाई ब्याचुलर लेबलसम्म पुगाउन सक्यौं भने विद्यार्थीहरुले स्थानीयस्तरमै प्राविधिक शिक्षा पढ्न पाउने थिए । योसंगै हाम्रै विद्यालयको क्षेत्रमा बहुप्राविधिक शिक्षालय पनि निर्माण भइरहेको छ । त्यसको सञ्चालन कसरी हुने भन्ने प्रारुप अझै तय भएको छैन । हामी बहुप्राविधिक शिक्षालयसंग पनि समन्वय गरेर अगाडि बढ्न इच्छुक छौं । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update