Paschim Express
‘महेन्द्र माविलाई शैक्षिक हबकै रुपमा विकास गर्ने हो’

डडेल्धुरा । डडेल्धुराको अजयेमरु गाउँपालिकाका सुरेन्द्र ऐरको शिक्षण यात्रा २९औं वर्षमा टेक्दैछ । २०५२ जेठ १२ गतेदेखि शिक्षण पेशामा आवद्ध भएका ऐर लगभग सोही समयदेखि नै जिल्ला सदरमुकामको महेन्द्र माविमा अध्यापन गराउँदै आएका छन् । ०७४ वैशाख १८ गते महेन्द्र माविको प्रधानाध्यापक हुँदा ऐरसमक्ष चुनौतीका चाङ नै थिए । विद्यालयमा विद्यार्थी संख्या घटेर ६ सयको हाराहारीमा मात्रै थिए ।

शैक्षिक गुणस्तरमाथि लगातार प्रश्न खडा भइरहेको थियो । विद्यार्थीको अनुशासन देखेर अभिभावक दिक्क थिए । तर ऐरले प्रधानाध्यापक भएको ६ वर्षमा महेन्द्र माविको मुहार फेरिदिएका छन् ।

यो अवधिमा विद्यार्थी संख्या ६ सयबाट बढेर झण्डै डेढ हजार पुगेको छ । जिल्लाभरका सामुदायिक विद्यालयमध्ये महेन्द्र माविले उत्कृष्ट नतिजा ल्याइरहेको छ । जादुको छडी जस्तो ६ वर्षमै विद्यालयको मुहार कसरी फेरियो त ? पश्चिमएक्सप्रेसले प्रधानाध्यापक ऐरसंग कुराकानी गरेको छ । 

महेन्द्र माविमा विद्यार्थीको आकर्षण बढ्नु र अभिभावकले विश्वास गर्नुको कारण चाँहि के हो ? 
पछिल्लो समयमा विद्यार्थी र अभिभावकको निजी विद्यालयतर्फ बढी ध्यान छ । त्यसको कारणबारे अध्ययन गर्दै जाँदा पढाईको स्तर र अङग्रेजी माध्यमबाट हुने पढाई मुख्य देखियो । अर्को कारण अनुशासन पनि रहेछ । यो सबै हामीले पनि गर्न सक्छौं भन्ने लाग्यो । र, चार वर्ष अगाडिदेखि हामीले पनि अङग्रेजी माध्यमबाट अध्यापन सुरु ग¥यौं । त्यसपछि निजी विद्यालय छोडेर पनि विद्यार्थी महेन्द्र माविमा आउन थाले । डडेल्धुराबाट मात्रै नभएर बैतडी, बझाङ, डोटी लगायतका जिल्लाबाट पनि विद्यार्थी पढ्न आउन थाले । अभिभावकहरु पनि विश्वास गर्न थालेका छन् । 

अनि शैक्षिक गुणस्तर पनि सुधार भयो त ? 
शैक्षिक गुणस्तर पनि सुधार भएको छ । सामूदायिक विद्यालयतर्फ जिल्लाभर नै उत्कृष्ट नतिजा हाम्रै छ । संस्कारसहितको गुणस्तर शिक्षा प्रदान गरेका छौं । जसले विद्यार्थीलाई पनि अनुशासित बनाएको छ । प्रविधिलाई पनि हामीले जोड दिएका छौं । कक्षा कोठा व्यवस्थापन गर्दै प्रोजेक्टरमार्फत अध्यापन गराइरहेका छौं । विद्यार्थीको ई–हाजिरी सुरु गरेका छौं । अतिरिक्त क्रियाकलापमा पनि जोड दिएका छौं । विद्यालयको सरकारी समय १० देखि ४ बजे भए पनि हाम्रो विद्यालयमा ९ बजेदेखि ५ बजेसम्म अध्यापन हुन्छ । 

यो शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको भिड अत्यधिक भएर भर्ना नै बन्द गर्नुभयो भन्ने थियो नि ? 
हो, यसपटक हामीले प्रवेश परीक्षा नै लिएर भर्ना गरेका थियौं । हाम्रो विद्यालयमा पुगेका सबै विद्यार्थीलाई हामीले भर्ना गर्न सकेनौं । त्यसको मुख्य कारण हामीसंग पर्याप्त कक्षा कोठा थिएनन् । दुई सय बढी विद्यार्थीलाई हामीले यो शैक्षिक सत्रमा भर्ना गर्न नसकेर फर्काउनु परेको थियो । 

विभिन्न देशमा सरकारी विद्यालयमा अध्यापनका लागि ठुलो प्रतिस्पर्धा हुने र भर्ना पाउनै मुस्किल हुन्छ । त्यो अवस्था यहाँ पनि आउनसक्ने सम्भावना छ ? 
एकदमै आउनसक्छ । हामीले थोरै बढी मेहेनत ग¥यौ र इमानदारीका साथ काम ग¥यौं भने सबै सामुदायिक विद्यालय सुधार हुन सक्छन् । आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिलाउने सबै अभिभावको चाहना हुन्छ । तर, निजी विद्यालयको चर्को शुल्क धान्न सक्ने अवस्था सबैको हुँदैन । यदि सामुदायिक विद्यालयमै गुणस्तर शिक्षा छ भने उनीहरुलाई निजी विद्यालयमा आफ्ना नानीबाबुलाई पढाउनुपर्ने बाध्यता हुँदैन । त्यसका लागि हामीले अहिलेको भन्दा थोरै बढी मेहेनत गर्न भने आवश्यक छ । सुरुमा महेन्द्र माविमै पनि इङलिस मिडियम सुरु गर्दा सक्ने–नसक्ने अन्योल थियो । तर टिम वर्क राम्रो भयो र अहिले हामी सफल भएका छौं ।

तपाईँ प्रधानाध्यापक हुनुभन्दा पहिले झण्डै ६ सय विद्यार्थी थिए, अहिले डेढ हजारको हाराहारीमा छन् । यो तथ्यांक हेर्दा प्रधानाध्यापकले सुधार गरेको विद्यालय भन्दा हुन्छ ? 
एकजनाले भन्दा पनि त्यो टिम वर्क हो । टिममा सबै सदस्यले निकै मेहेनत गर्नुभएको छ । तर, एउटा लिडरसिपले काम गर्ने वातावरण भने सृजना गर्न सक्छ । त्यो वातावरण मैले बनाएको छु होला । काम गर्ने त टिमले नै हो । मैले मात्र गरेर विद्यालय सुधार भएको होइन । 

अबको योजना के छ ? 
हामीले भौतिक पूर्वाधार विकास गर्न सक्यौं भने महेन्द्र माविलाई शैक्षिक हबकै रुपमा विकास गर्ने हो । अर्कोतर्फ प्रविधिमैत्री विद्यालय बनाएर मोडेलको रुपमा अगाडि बढाउने योजना छ । विद्यार्थीहरुमा संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने त मुख्य उद्येश्य नै भयो । त्योसंगै प्राविधिक धारतर्फ अहिले डिप्लोमा सम्म मात्रै कक्षा सञ्चालन हुन्छ ।

त्योलाई ब्याचुलर लेबलसम्म पुगाउन सक्यौं भने विद्यार्थीहरुले स्थानीयस्तरमै प्राविधिक शिक्षा पढ्न पाउने थिए । योसंगै हाम्रै विद्यालयको क्षेत्रमा बहुप्राविधिक शिक्षालय पनि निर्माण भइरहेको छ । त्यसको सञ्चालन कसरी हुने भन्ने प्रारुप अझै तय भएको छैन । हामी बहुप्राविधिक शिक्षालयसंग पनि समन्वय गरेर अगाडि बढ्न इच्छुक छौं । 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update