Paschim Express
डडेल्धुरामा आलु खेतीमा लाग्ने डढुवा रोगबाट बच्न किसानलाई ज्ञान केन्द्रको अनुरोध

डडेल्धुरा । कृषि ज्ञान केन्द्र डडेल्धुराले आलु खेतीमा लाग्ने डढुवा रोगबाट बच्न किसानहरूलाई अनुरोध गरेको छ । हाल मौसम परिवर्तन भइरहेकाले आलु खेतीमा डढुवा रोग लाग्न सक्ने उच्च जोखिम रहेको हुँदा समयमै ख्याल गरेर क्षति हुनबाट बच्न जिल्लाभरका आलु खेतीमा संलग्न किसानहरुलाई कृषि ज्ञान केन्द्र डडेल्धुराले अनुरोध गरेको हो । अबको समय आलु खेतीमा लाग्ने डढुवा रोगको लागि मौसम अनुकूल हुने भएकाले कृषकहरूले समयमै सजगता अपनाउनुपर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख खेमराज पनेरुले जानकारी दिए ।

१० देखि २० डिग्री सेल्सियस तापक्रम, ८० देखि ९० प्रतिशत आद्रता र दिउँसो बादल र कुहिरो लागेमा आलु खेतीमा डढुवा रोग लाग्न सक्ने पनेरुले बताए ।  छिनछिनमा पानी पर्नु, रातमा अत्यधिक मात्रामा शीत पर्नु र हल्का हावा चल्नु पनि आलु खेतीमा डढुवा रोगको लागि अनुकूल वातावरण हो ।

निमित्त कार्यालय प्रमुख पनेरुका अनुसार डढुवा रोगको उपचारका लागि अनुकूल वातावरण भएमा डाइथेन एम–४५ को धुलो २ दशमलव ५ ग्राम प्रति लिटर पानीमा मिसाइ सात दिनको फरकमा पात भिज्नेगरी छर्ने, रोग देखिन थालेपछि क्रीनोक्सिल, रिडोमिल, कपर अक्सिक्लोराइड १ दशमलव ५ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा पात भिज्ने गरी छर्ने र डाइमिथोमोर्फ वा सेक्टीन २ ग्राम प्रति लिटर पानीमा मिसाई सात दिनको फरकमा पातको तलपट्टिको भाग भिज्ने गरेर छर्नुपर्छ ।

तराई तथा भित्री मधेस र तल्लो पहाडी क्षेत्रमा हाल हिउँदे आलु लगाउने क्रम सकिएको छ । तराई तथा मधेसका अधिकांश क्षेत्रका किसानले आफ्नो बारीमा आलु लगाइ सकेको र अहिले आलु उम्रिएको राष्ट्रिय आलु बाली विकास कार्यक्रम खुमलटारले जनाएको छ । आलु उत्पादन हुने क्षेत्रमा अहिले किसानले आलु लगाएर गोड्ने समयको पर्खाईमा रहेको कृषि प्रावधिकहरु बताउछन । 

किसानले विशेष गरेर आलु लगाउँदा नै ख्याल गरेमा पछि लाग्न सक्ने रोगबाट जोगिन सकिने विज्ञहरुको भनाई छ । आलु खेतीगर्दा सबैभन्दा बढी ख्याल बिउको छनौटमा गर्नुपर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका अधिकृत तारिसिँह ठकुराठीले बताए । आलु विशेषज्ञ रामबहादुर केसीले आलु खेतीगर्दा बिउको छनौटसँगै मल व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । अरु बालीको तुलनामा आलुको उत्पादन बढी हुने भएकाले मल पनि बढी चाहिने भएको हो । उनका अनुसार नेपालमा एक हेक्टर जमिनमा आलुको उत्पादन २० टनसम्म हुने गरेको छ ।

अहिले आलुमा डढुवा रोगको संक्रमण हुने बेला भए पनि हालसम्म खासै समस्या नदेखिएकाले समस्या नभई विषादीको जथाभावी प्रयोग नगर्न आलु अनुसन्धान कार्यक्रमका प्रमुख डा. शम्भू धितालले सुझाव दिएका छन । सबै क्षेत्रमा घाम लागिरहेको र चिसो हावा पनि नचलेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाई छ ।

तर अबको एक हप्ता पन्ध्र दिनपछि भने आलुमा समस्या देखिन सक्ने भएकाले सचेत भने हुनुपर्ने उनले बताए । विशेष गरी अब आलुमा देखिने भनेको डडुवा रोग रहेको र त्यसको लक्षण देखिएमा कृषि प्राविधिकको सल्लाहमा विषादीको प्रयोग गर्नु पर्ने विज्ञले बताएका छन ।

डडुवा रोगको लक्षणको रुपमा आलुको पात तथा डाँठमा कालो धब्बा देखिने र त्यसमा बिहानमा सेतो कपास जस्तो ढुसी देखिने हुन्छ । यस्तो लक्षण देखिएमा उपचार गर्नुपर्छ । संक्रमणको शुरुको अवस्थामा पातमा हल्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरु देखिन्छन । अनुकूल वातावरण पाइरहेमा थोप्लाको मित्री भाग खैरो एवं सुकेको देखिन्छ भने थोप्लाको बाहिरी घेरा हल्का हरियो देखिन्छ । 

ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भएर पातको तल्लो सतहमा थोप्लाको वरिपरि कपासको घेरा जस्तो देखिने गरेको कृषि प्रावधिकहरु बताउछन । आलु खेतीमा डढुवा रोग बढ्दै गएमा पूरै पात सुकेर डढे जस्तो लाग्छ । यदि फलेका दानाहरु माटोले पुरिएका छैनन् भने दानामा पनि रोगको संक्रमण हुन सक्दछ । 

दानाको सतहमा खैरो तथा बैजनी रंगका दागहरु देखा पर्दछन । रोग अनुकुल वातावरणमा रोगग्राही आलुको जातमा काण्ड, पातको डण्डी तथा मुनामा ढुसीले आक्रमण गर्दछ जसबाट काला ठुला दागहरु देखिन्छन । डढुवा रोगको संक्रमणका कारण बिरुवाको विकास रोकिन्छ जसको फलस्वरुप आलु नै फल्दैन ।

आलु खेतीगर्दा रोग अवरोधक तथा सहन सक्ने जातहरू जस्तैः टी.पी.एस.का विभिन्न जात, जनकदेव, खुमल रातो–२, खुमल सेतो–१, एन.पी.आई.–१०६ जस्ता जातहरू लगाउन कृषि प्रावधिकहरुले सुझाव दिएका छन । कुहिरो लाग्नु, केही दिन घाम नलाग्नु र सिमसिमे पानी पर्नु आलु खेतीमा डढुवा रोग फैलाउन सहयोग पु¥याउने वातावरण हुन ।

तसर्थ यस्तो वातावरणसुरू हुने सम्भावना देखिएमा इन्डोफिल एम–४५, २–३ ग्राम वाक्रिनोक्सिल गोल्ड वा रिडोमिलजस्ता ढुसीनाशक धूलो विषादी १–१.५ग्राम प्रतिलिटर पानीमा मिसाई पातको तल्लो सतहमा समेत पर्नेगरी बातावरण र रोगको अवस्था हेरेर सात देखि १० दिनको फरकमा घोलमा एड्जुभेन्ट वा स्टिकर मिसाएर दुई तीन पटक छर्नुपर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख पनेरुले बताए । 

नेपालमा आलुबाली कूल उत्पादनको आधारमा धान, मकै र गहुँ पछिको चौथो प्रमुख बालीको रुपमा रहेको छ । नेपालमा आलु खेती गरिएको क्षेत्रफलको आधारमा भने यो बाली छैठौं स्थानमा पर्दछ । उच्च पहाडी क्षेत्रमा आलुलाई मुख्य खाद्य बालीको रुपमा लिइन्छ भने मध्य पहाड तथा तराइ क्षेत्रमा प्रमख तरकारीको रुपमा लिने गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update