Paschim Express
सुदूरपश्चिमवासीका तर्फबाट प्रधानमन्त्री दाहाललाई लगाइयो १० किलोको माला

डडेल्धुरा । कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० किलोको माला लगाइएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा सुदूरपश्चिमवासीका तर्फबाट १० माग राख्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो ।

धनगढीमा २०६३ सालदेखि हुँदै आएको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि राष्ट्रपति, प्रधानमन्त्रीदेखि पूर्व संघीय सांसदहरु तथा प्रदेशका तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथिका रुपमा सहभागि भइसकेका छन् । कैलाली उद्योग वाणिज्य संघका अनुसार महोत्सवको १७ औं संस्करणसम्म आइपुग्दा पाँच वटा माग मात्र सम्बोधन भएका छन् ।

संघले गौरिफण्टा नाकाको स्तरोन्नित गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन, खप्तड, शुक्लाफाँटा, घोडाघाडी जस्ता पर्यटकीय क्षेत्रको प्रबद्र्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रशोधन केन्द्र, शित भण्डार गृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सबै जिल्लामा पक्की सडक, सूचना प्रविधि, बहृमदेव सडक, चिसापानीदेखि गड्डाचौकी सम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शनी स्थल, नेपाल टेलिभिजनको प्रशारण केन्द्र र सुदूरपश्चिम साँस्कृतिक संग्राहलय लगायतका १० बुँदे माग अघि सारेको यसपटक १० किलोको माला लगाइएको हो । 

यस्तै महोत्सवको उद्धघाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले सुदूरपश्चिमबासीले राखेका माग सम्बोधन गर्न विगतदेखि नै आफू सक्रिय भएर लागेको बताए । ‘मेरो विदेश भ्रमणका क्रममा पनि सुदूरपश्चिम सधैँ प्राथमिकता रहेको छ,’ उनले भने, ‘गेटामा विश्वविद्यालय सञ्चालनको निर्णय पनि भइसकेको छ । यो सञ्चालन हुँदैन भनेर भ्रम नफैलाउन आग्रह गर्दछु ।’

महोत्सवको सफलताको शुभकामना दिँदै प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्र लयमा ल्याउने प्रयास भइरहेको बताए । सुशासन र समृद्धिको पक्षमा अहिलेको सरकार लागेको बताउँदै उनले केही व्यक्तिहरु त्यसका विरुद्ध लागेकोमा दुख व्यक्त गरे । ‘राजनीतिक स्थायित्व र विकासको गतिका लागि सक्रिय भएर लागेको छु,’ उनले भने, ‘त्यसमा सुदूरपश्चिमबासीको साथ र सहयोग पाउने अपेक्षा पनि गरेको छु ।’
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update