Paschim Express
डडेल्धुरामा अन्तर जिल्ला समन्वय बैठक सम्पन्न, के भयो छलफल ?

डडेल्धुरा । अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक डडेल्धुरा जिल्लामा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराको आयोजनामा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको सहभागितामा बैठक सम्पन्न भएको हो ।
विभिन्न साझा सवालहरूको बारेमा छलफल गरी बैठक सम्पन्न भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए । 
उनका अनुसार बैठकमा सबै जिल्लाका साझा सवालहरू, जिल्लास्तरीय शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अवैध हातहतियार तथा लागूऔषध प्रयोग तथा ओसारपसार नियन्त्रण, खुल्ला सिमाना व्यवस्थापन, सवारी साधन चेकजाँचमा कडाइ, सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चेकजाँचमा कडाइ, विपद् व्यवस्थापन, प्रतिकार्य र विपद् पछिको अवस्था व्यवस्थापनमा साझेदारीका विषयमा छलफल भएको छ । 
यस्तै बन पैदावार तथा चोरी सिकारी नियन्त्रण, अवैध मदिरा नियन्त्रण,अपराधीक घटना बढ्न नदिन पूर्व तयारी, भारतीय सवारी साधन चेकजाँचमा कडाइ, रणनीतिक महत्वका स्थानहरूमा सिसिक्यामरा जडान गर्न स्थानीय सरकारसँग समन्वय, सार्वजनिक सेवा प्रवाह र प्रभावकारिता लगायतका विषयहरूमा छलफल भएको समेत प्रजिअ न्यौपानेले बताए ।   

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update