Paschim Express
सुदूरपश्चिममा सवा तीन करोडमा बन्यो घण्टाघर, तर अझै सञ्चालनमा आएन

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा निर्माण भएको घण्टाघर सञ्चालनमा ढिलाई भएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले झन्डै दुई वर्षअघि निर्माण सम्पन्न गरेको टीकापुरस्थित घण्टाघर हालसम्म सञ्चालनमा नआएको हो । कार्यालयले एक वर्षअघि नै टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको भए पनि नगरपालिकाले हालसम्म सञ्चालनमा ल्याउन नसकेको हो ।

३ करोड २६ लाख ४२ हजार रूपैयाँको लागतमा रोयल प्रशंसा जेभी निर्माण कम्पनीले २०७५ फागुन १९ गते घण्टाघर निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने थियो ।

तर कोरोना सङ्क्रमणका कारण २०७८ मा मात्र निर्माण सम्पन्न भएको घण्टाघर सञ्चालन हुने अझै  निश्चित छैन । नगरपालिकाले सो घडी सञ्चालन गर्न दुई पटक टेन्डर आह्वान गरेको जनाएको छ । तर कसैले पनि टेन्डर नहालेपछि पुनः प्रक्रियाको तयारीमा रहेको बताएको छ ।

घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ । घण्टाघरबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । २६ मिटर उचाइ रहेको उक्त घण्टाघरको पहिलो तलामा रेस्टुरेन्ट सञ्चालन गर्न सकिन्छ भने घण्टाघरमा प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउन्टर निर्माण गरिएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update